सत्ता शक्तिको भरमा गैर आवासीय नेपाली संघ प्रभावित नभइ आगामी कार्यकालको लागि हुने निर्वाचन कसैले रोक्न नसक्ने दाबी कार्यकारी अध्यक्ष डा बद्री केसीले गरेका छन ।
एनआरएनए जापानले शुक्रबार टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका कार्यकारी अध्यक्ष डा केसीले विगतका अनुभवहरूबाट पाठ सिक्दै अक्टोबरमा हुने निर्वाचन मतदान प्रक्रियाबाट अघि बढ्ने स्पष्ट पार्दै सो कुरा बताएका हुन ।
एनआरएनएको कुनै कालखण्डमा विगतको अवस्था आउनुपर्ने थियो र आयो । डा केसीले भने- ‘भावनाले सस्था चल्दा एकैदिन सकिन पनि सक्ने भएकोले अब बिधि विधान र नीति नियमले संघ चल्छ र चलाउनु पर्छ ।’
एनआरएनए ऐनको पुर्नव्याख्या र पुनरपरिभाषा गराउनका लागि आवश्यक गृहकार्य भैरहेको जानकारी गराउदै अध्यक्ष डा केसीले विद्यार्थीहरूलाई पनि एनआरएनएको परिभाषा भित्र समेटिने गरि कार्य भैरहेको बताए । एनआरएनएको सदस्यता बन्नको लागि निर्वाचन अघि एकमहिना बन्द गर्ने र अन्य समयमा नियमित खुला गर्ने आइसीसीको योजना रहेको समेत उनले बताएका छन ।
नेपालमा लगानी भित्राउन लगानी मैत्री वातावरण बनाइनु पर्ने
नेपाल राष्ट्रको नै रेटिङ नभएकाले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक नभएकोले त्यसका निम्ति सरकारले आवश्यक नीति बनाएर लगानी मैत्री वातावरण बनाउनु पर्ने कार्यकारी अध्यक्ष डा केसीको भनाई छ ।
‘वैदेशिक लगानी भित्राउनका लागि एनआरएनएले पुलको रूपमा कार्य गरिरहेको र आगामी दिनमा पनि गर्ने छ ।’ डा केसीले भने- लगानी गर्ने बिश्वासनीय वातावरण सृजना गर्न नेपाल सरकारले नै तदारूपता देखाउनु आवश्यक छ ।
वैधानिक बाटोबाट वार्षिक १३ खर्ब विप्रेषण भित्रिने गरेको तर नेपालले १७ खर्ब आयातमा खर्च गर्नुपर्ने वाद्यात्मक अवस्था अहिले नेपालको रहेकोले अर्थतन्त्र सुधारका लागि एनआरएनए हरू नै उपयुक्त रहेकोले नीति नियमलाई सहज र सरल बनाउनका लागि उनले सरकार समक्ष माग समेत गरे ।
एनआरएनएले विदेशमा बस्ने नेपाली एनआरएनएको लागि धेरै नीतिगत रूपमा सुधार गरेको फेहरिस्त बताउदै अध्यक्ष डा केसीले भने- ग़ैर आवासीय नेपाली नागरिकता लागू भएपछि नेपालमा लगानी भित्रने मेरो विश्वास छ ।
नेपालमा एनआरएनएले गर्ने लगानीको लागि सिमाको प्रावधानमा सुधार समेत भएकोले यसले लगानीका लागि सकारात्मक प्रभाव पार्ने बताए ।
अन्तरक्रियाको वक्ताका रूपमा रहेका आइसीसी सचिब खगेन्द्र न्यौपानेले नेपालमा लगानीको लागि एनआरएनएले प्रोत्साहन गर्दै आइरहेको बताए । एनआरएनएको पहलमा नेपाल सरकारले हालै सुरु गरेको सामाजिक सुरक्षा कोषमा आबद्द हुनका लागि सबै एनआरएनए नेपालीलाई सचिव न्यौपाने आग्रह गरे ।
फरक प्रसंगमा सचिब न्यौपानेले एनआरएनएमा फ़रक मत राखी छुट्टै एनआरएनए संचालन गरेकाहरूलाई आफूहरू हदैसम्म लचिलो भएर एकता र सहकार्यका लागि तयार रहेकोले एकिकृत भएर काम गर्नका लागि अनुरोध समेत गरे ।
जापानमा रहेका एनआरएनए अभियन्ता, व्यावसायी, पत्रकार लगायतको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष नविन निउरेले गरेका थिए। महासचिव टिकाराम खरेलको संचालनमा सम्पन्न कार्यक्रमको उद्देश्यको बारेमा प्रवक्ता खगराज गौतमले र स्वागत मन्तव्य उपाध्यक्ष सिद्दार्थ श्रेष्ठले गरेका थिए ।अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले एनआरएनए लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष नविन निउरेले आइसीसीलाई बिभिन्न ८ बुँदामा सुझाव राखेका थिए । ती सुझावहरू निम्नानुसार रहेका छन ।
१- एनआरएनए एनसीसी र एनआरएनए आइसीसीको अन्तर सम्बन्ध र सहयोग आदानप्रदानको प्रणालीको विकास गरिनु अवको प्रमुख कार्यभारको रूपमा लिनु आवश्यक छ ।
२- एनआरएनएको सदस्यतालाई विधानमा नै संशोधन गरेर भएपनि नियमित रूपमा खुल्ला गरि नवीकरण गर्ने मेकानिजमको व्यवस्था गर्नुपर्ने
३- आइसीसी डेलीगेस्टमा छनोट पद्दतिको अन्त गरि एनआरएनए सदस्य जो कोहिले पनि मतदान गर्ने व्यवस्था गरिनुपर्ने
४- नेपालको चिनारीलाई एनआरएनएले मुख्य कार्यभारको रूपमा लिने गरि योजनातर्जुमा गरिनु पर्ने, त्यसका लागि एनएसीसीको भूमिका के आइसीसीको भूमिका के स्पष्ट ज़िम्मेवारी तोकिनु आवश्यक रहेको
५- एनआरएनएले नेपालको निर्वाचनमा मतदान गर्ने व्यवस्थाका निम्ति पहल गरिनु पर्ने र सोहि अनुरूपका कार्यक्रम तर्जुमा गरिनुपर्ने
६- नेपालको कला सस्कृति रीतिरिवाज चालचलनलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्ने निर्दिष्ट कार्यक्रम संचालन गरिनुपर्ने
७- सुरक्षित वैदेशिक रोज़गारका लागि सरोकारवालासंगको समन्वयमा एनएसीसीसहितलाई समावेश गरि सचेतनामूलक कार्यक्रम गरिनु पर्ने
८- आइसीसीका कार्यक्रममा एनएसीसीले हरेक अवस्थामा सहयोग गरि रहेकोले अब आइसीसीका वार्षिक कार्ययोजना बनाउदा एनएसीसीका योजनालाई पनि समावेश गरेर जानुपर्ने