
२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो ।
कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोविरुद्ध सहज जित निकाल्यो । फ्रान्सको जितमा थेओ हेर्नान्डेज र रान्डल कोलो मुआनीले गरे गरे । पहिलो हाफको सुरुमै एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो ।
हेर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गरेको गोलसँगै मोरोक्कोविरुद्ध फ्रान्सले १–० गोलको अग्रता बनाएको थियो । खेलको ७९औँ मिनेटमा रान्डलले गोल गरेपछि फ्रान्सले २–० को जित निकालेको हो । खेल अवधिभर मोरोक्कोले गोल गर्ने राम्रो अवसरहरु खेर फाल्दा हार ब्यहोरेको हो । फ्रान्सको पोस्टमा मोरोक्कोले १३ पटक प्रहार गरेको थियो ।
यो जितसँगै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब फ्रान्सले विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ । फाइनल खेल पुष ३ गते हुनेछ । यसअघि अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको टिम हो । मोरोक्कोले प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । क्वार्टरफाइनलमा मोरोक्कोले पोर्चुगललाई पराजित गर्दै पहिलो पटक सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।
सन् १९५८ र १९६२ मा पेले र ब्राजिलपछि ६० वर्षसम्म कुनै पनि टिमले लगातार दुईपल्ट विश्वकप जित्न सकेको छैन । फ्रान्सका लागि यसपल्ट त्यो अवसर हुनेछ । लगातार फाइनलमा पुगेको चाहीँ सन् २००२ मा ब्राजिलपछि पहिलो हो ।
साढे चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई हराएर इतिहासमा दोस्रोपल्ट विश्वकप उपाधि उचालेको थियो ।
सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले तेस्रो स्थानका लागि शनिबार हुने खेलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिनासँग पराजय ब्यहोेरेको थियो ।



