जापानको क्योतोमा नेपाली कलाकारहरुको प्रस्तुति सहित मंगलबार साँगीतिक साझ कार्यक्रम सम्पन्न भएको छ ।
स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साँगीतिक कार्यक्रममा नेपालदेखि जापान भ्रमणमा रहेका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर कलाकारितामा क्रियाशिल कलाकारहरूले आफ्नो साँगीतिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
स्टार ग्रुप जापान र स्योराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त सांगीतिक साँझमा कलाकारहरु काजल गुरूङ,गोबिन्द गुरूङ,बालचन्द्र बराल,शंकर सुनार,निकिता गुरूङ,कुलबिर थापा,दुर्गेश कार्की, सलिना नेपाली लगायतले आफ्ना विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए।
एनआरएनए कान्साईका संयोजक कंडेलले हामी प्रवासमा रहेका नेपालीहरूले नेपाली कला संस्कृतिको संरक्षणका लागि नेपाली मौलिक संस्कृतिसहितका साँगीतिक कार्यक्रम गरिरहनु पर्ने बताउदै आयोजक टिमलाई धन्यवाद व्यक्त गरे ।
साँगीतिक साँझ कार्यक्रममा बोल्दै स्योराइ किचनका संचालक तथा गल्कोट समाज जापानका महासचिव दिलिप कडेलले यस्ता कार्यक्रमले विदेशको व्यस्त, दुःख,कष्ट र संघर्षपूर्ण जीवनशैलीबाट मानिसहरूलाई एकछिन भएपनि अलग गराएर नेपाली गीत संगीतमार्फत मनोरञ्जन प्रदान गरि थप उर्जाशिल बनाउदै एक आपसमा भाइचारा कायम गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै बिहुँकोट समाज जापान कान्साईका अध्यक्ष बलबहादुर क्षेत्री (मुकेश) ले उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरे । ।
सोहि कार्यक्रमको लागि जापानको सिजोओकादेखि दिपक केसी रेशम राज, वि.के सुमन लगायतले कार्यक्रमको व्यवस्थापकीय पक्षको प्रशंसा गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियान्ता, बुद्धिजिवी, व्यावसायी तथा विद्यार्थी लगायतकाे उपस्थिति रहेको थियो।