
नेपालको महेन्द्रनगर घर भै हाल जापानको सेन्दाइमा मारुचि सेन्मोन शिक्षालयमा अध्ययनरत ३१ वर्षीय कुबेर धामीको शनिबार निधन भएको छ ।
दुईवर्ष अघि जापानी भाषा अध्ययनका लागि जापान आएका धामी शुक्रवार फुजी फुड्स बेन्तो कम्पनीमा नियमित काम गरेर राती अबेर कोठामा फर्केका थिए । उनी सदा जस्तै सुतेका र शनिवार दिउसो कोठामा पुगेर हेर्दा सुतेको अवस्थामा नै मृत फेला परेको उनीसंगै कोठामा बस्ने साथीले जानकारी दिएका छन ।
धामी हरेक दिन बिहानमा अबेरसम्म सुत्ने गरेकोले आफूले उनलाइ नउठाई गएको र दिउसो आउदा पनि उनी सुतेको अवस्थामा देखेपछि उठाउन खोज्दा शरिर चिसो भएको पाएपछि प्रहरीलाई खबर गरेको ती साथीले बताएका हुन ।
प्रहरीले उद्धार गरि अस्पताल पुर्याएर स्वास्थ परीक्षण गर्दा धामीको मृत्यु भैसकेको जनाइएको छ । हाल उनको शवलाई पोष्टमार्टमका लागि राखिएको प्रहरीलाई उदृत गर्दै एनआरएनए सेन्दाइका अशोक निरौलाले जानकारी दिएका छन ।
उनको मृत्यु के कारणले भएको हो भन्नेबारे केही बताईएको छैन प्रारम्भिक अवस्थालाई हेर्दा हृदयघाटबाट मृत्यु भएको हुन सक्ने देखिन्छ । सन २०१९ मा जापानी भाषा अध्ययनका लागि सेन्दाइको खानक्यु शिक्षालयमा आएका मृतक धामीसँग अन्य दुईजना साथी कोठामासंगै बसदै आएका थिए । नेपालमा धामीको परिवारलाई जानकारी गराइसकिएको र आवश्यक प्रक्रिया पुरा गरि जापानमा नै अन्तिम संस्कार गरिने बताईएको छ ।