श्वेतपत्रमा आग्रह पूर्वाग्रह नभएको अर्थमन्त्री शर्माकाे दाबी

-


     जनहित न्युज    
     श्रावण २८ गते २०७८


अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको बारेमा जानकारी राष्ट्रिय सभामा प्रस्तुत गरेका छन्। राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री शर्माले आर्थिक अवस्थाबारेको जानकारी श्वेत पत्र प्रस्तुत गरेका हुन्। 

उनले एकै ठाउँमा ५ अर्बको बजेट विनियोजन नहुने बताए। झापा जिल्लामा ५ अर्बको बजेट विनियोजन भएको सांसदहरूको जिज्ञासामा अर्थमन्त्री शर्माले डडेलधुरामा ५ अर्बको बजेट विनियोजन नहुने बताए।

डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने झापा निर्वतमान प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला हो। 

राष्ट्रिय सभामा विपक्षी दल एमालेका सांसदहरूले वैदेशिक ऋण नलिई वर्तमान सरकार चल्ने हो भनेर प्रश्न गरेका छन्।  उनीहरूले श्वेतपत्र नभएर आरोप पत्र भएको बताए।

भारतले गरेको नाकाबन्दीका कारण देशको अर्थतन्त्रमा परेको असर श्वेतमा छुटाउन नहुने विपक्षी सांसदहरूको माग छ। उनीहरूले अध्यादेश बजेट प्रतिस्थान गर्न ल्याउने भनेको विधेयक नयाँ बजेट हो भनेर पनि सोधेका छन्। 

श्वेत पत्रलाई उनीहरूले पूर्वाग्रहको निबन्धको संज्ञा पनि दिएका छन्। 

सांसदहरूको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री शर्माले श्वेतपत्रमा आग्रह पूर्वाग्रह नभएको बताए। उनले देशको आर्थिक अवस्थाको तथ्याङ्क जे छ त्यही प्रस्तुत गरेको बताए।

उनले आफूले प्रस्तुत गरेको देशको आर्थिक अवस्थाको जानकारी आर्थिक वर्ष २०७३/०७४ को प्रगतिको रिपोर्ट भएको बताए। ‘जे छ त्यही ऐना प्रस्तुत गरेको हुँ,’अर्थमन्त्री शर्माले भने,‘हेर्दा बांगोटिंगो देखिन्छ भने आफ्नै अनुहार देखिने हो।’

उनले तथ्याङ्कमा फरक परे जिम्मा लिन तयार रहेको बताए। ‘भएका गरेका कामको कुरा लेखिएको छ,’उनले भने,‘आग्रहको गन्ध भेटिए कठघरामा उभिन तयार छु।’

अर्थमन्त्री शर्माले नयाँ बजेट ल्याउने नल्याउने संसद्ले निर्णय गर्ने बताए। संसद् छलेर अध्यादेशबाट ल्याएको बजेट संसदमा टेबुल गरिएको बताउँदै अर्थमन्त्री शर्माले बजेट संशोधन, परिमार्जन या प्रतिस्थानको कुरा संसदबाट निर्णय हुने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?