
काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।
न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् ।
एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन् ।
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी थिइन् । यस्तै विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको तर यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको उनले जनाएकी थिइन् ।
पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको उनको भनाइ थियो ।
आधिकारिक रूपमा सम्बन्ध बिच्छेद पश्चात् आफ़नो फेसबुकमा एलिनाले लेखकों स्टाटस
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)