मोरक्को बन्यो विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो

-


     जनहित न्युज    
     मंसिर २५ गते २०७९


DOHA, QATAR - DECEMBER 10: Pepe of Portugal controls the ball against Achraf Hakimi of Morocco during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Maja Hitij - FIFA/FIFA via Getty Images)

पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ । विश्वकप फुटबलको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको मोरोक्कोले ऐतिहासिक उपलब्धि पाएको छ ।

कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।

मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले पछि परेको पोर्चुगलले गोल गर्ने अवसर राम्रो पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलको प्लेइङ इलाभेनमा परेका थिएनन् । खेलको ५१औँ मिनेटमा रुबेन नेभेसको स्थानमा मैदानमा छिरेका कप्तान रोनाल्डोले पनि पोर्चुगललाई हारबाट बचाउन सकेनन् ।

यसअघि प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले ऐतिहासिक सफलता पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?