एमसीसी सम्झौता अनुमोदन गराउन पहल गर्न आएकी उपाध्यक्षलाई मिलेन सकारात्मक संकेत, कस्तो गर्लिन त बोर्डमा ब्रिफिङ ?

-


     जनहित न्युज    
     भाद्र २६ गते २०७८


अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा रहेको अन्योल चिर्ने र नेपालमा एससीसी कार्यान्वयनको वातावरण बनाउने उद्देश्य लिएर काठमाडौं अवतरण गरेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार आइतवार अमेरिका फर्कँदै छिन् । 

फतिमा सुमारको नेपाल बसाईका क्रममा राजनितिक भेटघाटमा निकै व्यस्त रहिन र एमसीसी सम्झौता पास गर्नका लागि सकेसम्मको लागि परिन । तर राजनितिक दलमा शीर्ष नेतृत्वबाट अपेक्षा गरेअनुसारको जवाफ भने पाउन सकिनन् । सबै पक्षबाट राष्टिय सहमतिका आधारमा मात्र सम्झौतालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिने खालको सन्देश प्राप्त गरेपछि सुमारले अर्थमन्त्रीलाई भेटेर छिटोभन्दा छिटो यसबारेमा निर्णय लिन आग्रह समेत गरिन् । विभिन्न शीर्ष नेतृत्वबाट आवश्ृयक परिमार्जन गरी राष्टको हित अनुकूल नभएसम्म एमसीसी अनुमोदन नगर्ने छनक पाएपछि आइतबार स्वदेश फर्कन लागेकी उपाध्यक्ष सुमारको रिपोर्टिङबाट के कस्तो निर्णय आउने हो प्रतिक्षाको विषय बनेको छ । राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ ।

उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन्। तर सत्तारूढ गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पनि सबै राजनीतिक दलहरू सहमत भए मात्रै एमसीसी अघि बढाउने सक्ने बताएर घुमाउरो रूपमा एमसीसी अघि बढ्न नसक्ने सन्देश दिएका छन् । 

यता सुमारले सबैभन्दा पहिलो संसदको सबैभन्दा ठूलो एवं प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्षलाई भेटेर एमसीसी अगाडि बढाउन पहल गर्न भनेकी थिइन् । सुमारसँगको भेटमा ओलीले एमसीसी कार्यन्वयनमा लैजाने वा नलैजाने बारेमा स्पष्ट भने बताएनन् । आफ्नो नेतृत्वको सरकारले एमसीसी अघि बढाउन चाहेको भए पनि सभामुखलगायतको भूमिकाको कारण असफल भएको बताएर एमसीसीको विपक्षमा नरहेको सन्देश ओलीले दिएका थिए । तर, अनुमोदनका लागि सरकारको पोजिसन हेरेर धारणा बनाउने बताएर तत्काल कार्यान्वयनमा लैजान सहयोग गर्ने आश्वासन पनि उनले दिएनन् । एमसीसीको विषयमा मझधारमा रहेर कुरा गरेका ओलीको स्पष्ट जवाफ सुमारले पाइनन् ।

सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने / नहुने सरकारको हातमा रहेको बताएका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, ‘एमसीसी कम्प्याक्ट अगाडि बढाउन मैले राजनीतिक स्तरमा छलफल जारी राखेको छु ।’

प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, ‘आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो । हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदानप्रदान गरेका छौं ।’

भेटमा उपाध्यक्ष फातिमाले एमसीसी संसद्बाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन् । प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटबारे अर्थ मन्त्रालयले साँझ विज्ञप्ति जारी गरेको थियो ।

तर, एमसीसी उपाध्यक्ष फातिमाले भने सम्झौता अघि बढाउने वा नबढाउने स्पष्ट उत्तर दिन दबाब दिएकी थिइन् । प्रधानमन्त्रीले एमसीसी कार्यान्वयन गर्नका लागि केही समय दिन भनेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्रीको प्रस्तावमा सुमारले आफूहरू एमसीसीमा अब धेरै अल्मलिएर बस्न नसक्ने भएकोले स्पष्ट जवाफ माग गरेकी थिइन् । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसहितको टोलीसँगको भेटमा अध्यक्ष नेपालले राष्ट्रहित विपरीतको अनुदान नचाहिने भन्दै एमसीसी कार्यान्वयन गर्न नसकिने जवाफ दिएका थिए । तर, नेकपा (एस)का अध्यक्ष नेपाललाई सुमारले एमसीसी नेपालकै हितमा रहेको भन्दै ‘कन्भिन्स’ गर्ने प्रयास गरेकी थिइन् । सत्ता साझेदार दल नेकपा (एस)को तर्फबाट उनले एमसीसी अगाडि नबढ्ने स्पष्ट सन्देश पाएकी छन् । नेपालले कुर्सी र सत्ताका लागि आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने समेत बताएका छन् । 

उनीहरू नेपाल आएकै समयमा एमसीसीविरुद्ध व्यापक प्रदर्शनसमेत भएको छ, जसले नेपालमा नागरिकस्तरमा एमसीसीको विरोध भइरहेको सन्देश फातिमाले पाएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?