जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक, नागोयामा एक नेपालीको कोरोनाबाट निधन भएको आशंका

-


     कविकिरण न्यौपाने    
     भाद्र २६ गते २०७८


जापानमा नेपाली समुदायमा कोरोना संक्रमण व्यापक भएपछि चिन्ता छाएको छ। यतिबेला धेरै नेपालीहरू रहदैं आएका जापानको टोकियो, नागोया, ओसाका र फुकुओका लगाएतका शहरहरुमा नेपालीहरु अत्याधिक संक्रमित भएको बताइएको छ।

यसै बिच जापानको नागोयामा पारिवारिक भिषामा रहदैं आएकी बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डवखानीकी ३८ वर्षीय यशोधा पुन मगर बेलुको निधन भएको पारिवारिक स्रोतले बताएका छन्। उनी २ हप्ता अघि कोरोना संक्रमण भई कोराना मुक्त भएकी थिइन ।

शुक्रवार राती पुन मगरले स्वासप्रश्वासमा असहजता महसुश गरेपछि पछि एम्बुलेन्समार्फत अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएर आवश्यक चेकजाँचपछि बेडमा लगिएको र त्यहा अस्पतालमा उपचारारत रहेका अन्य बिरामीहरुलाई देखेर हतासिएपछि एक्कासी बेडमा ढलेकी उनी त्यसपछि कहिलै नउठने गरि चीर निद्रामा परेको परिवारले जनाएको छ ।

मृतक पुन मगरको शनिवार नै जापानमै अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।

यशोधा पुन मगर बेलु कोरोनाको संक्रमणबाट निधन भएको आशंका गरिएको तर परिवारले हृदयघातबाट निधन भएको हुन सक्ने बताएको छ ।

२ छोरा र एक छोरीकी आमा रहेकी पुन मगरको श्रीमान संगै रहेका र छोराछोरी नेपालमा रहेको बताईएको छ । साथमा रहेका श्रीमानपनि हाल कोरोना संक्रमित भइ घरमै स्वास्थ्य लाभ गरिरहेका छन ।

श्रीमान दक्ष कामदार भिषा (कुकमा ) जापान कार्यरत रहदै आएका छन्। पुन मगरको निधन हृदयघातले हुन सक्ने पारिवारिक स्रोतको दाबी रहेको छ ।

नेपाली समुदायमा कोरोना संक्रमण व्यापक रूपमा फैलिदै

मृतक पुन मगरसंगै काम गर्ने धेरै नेपालीलाई कोरोना संक्रमण भएको बताइएको छ। अर्कै कम्पनीमा काम गर्ने चितवन घर भएकी यशोधा घिमिरेका अनुसार उनी काम गर्ने ठाँउमा ५० औं जना कामदार रहेकोमा कोरोना संक्रमणका कारण अधिकांश संक्रमित भएपछि अहिले काम गर्नेको संख्या १०-१२ जना मात्र छ ।

कोरोना संक्रमण नेपालीहरुमा व्यापक फैलिएको कारण नेपालीहरुले सञ्चालन गरेका रेष्टुरेन्तमा कार्यरत कर्मचारीलाई संक्रमण फैलिदा रेष्टूरेन्टहरु धमाधम बन्द भई रहेका छन्। हालै मात्र कोरोना संक्रमण मुक्त भएका रेष्टूरेन्ट व्यवशायी एवं एनआरएनए नागोयाका क्षेत्रीय उप- संयोजक कुशल पौडेलका अनुसार सचेत हुनुनै यसबाट जोगिने उपाय भएको बताए। यो संक्रमण भएपछि मानिसलाई ज्यादै शारिरिक कमजोर बनाउने उनको अनुभव छ।

जापानमा कोरोना संक्रमण भई चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार गराई रहेका दर्जनौं नेपालीहरु रहेका छन्। त्यसै मध्येका एक अनेसाज जापान च्याप्टरका पूर्वअध्यक्ष एवं एनआरएनए, जापानका पूर्व सचिव विष्णुप्रसाद घिमिरे पनि हुन्। गत अगष्ट२१ तारिक कोरोना संक्रमण देखिएका उनी २४ तारिक एम्बुलेंस लिएर अस्पताल जादा सामन्य स्लाइन लगाएर पठाएको थियो । अक्सिजन लेवल घटेर असहज भएपछि २८ तारिक फेरि एम्बुलेंस बोलाएर हस्पिटल गई भर्ना भएर उनी निरन्तर उपचारको क्रममा छन्। चिकित्सकका अनुसार अबको एक हप्तामा डिस्चार्ज हुन सक्ने घिमिरेले बताए ।

कोरोना संक्रमणबाट बिरामी भइ दुई हप्तादेखि अस्पतालमा उपचारारत विष्णुप्रसाद घिमिरे, शिघ्र स्वास्थलाभको कामना

कोरोना जोगिदा जोगिदै पनि लाग्न सक्छ त्यो भनेर हेलचक्राइ नगरौं । स-साना गल्तिले मुल्यवान जीवननै टुंगिन सक्छ । कोरोना भइसकेको हो वा खोप लगाइसकेको छु भनेंर ढुक्क नबनौं । विभिन्न भेरियन्ट र विकशित मुलुकहरुले बुष्ट डोज समेत त्यसै सुरु गरेका होइनन , घिमिरेको भनाई छ।
उमेर, कमजोरी, दीर्घ रोगिहरुले कपडाको माक्स होइन , सर्जिकल माक्स प्रयोग गरौं । चाडवाडहरु लस्करै आएका छन , सुरक्षाको मापदण्ड पुरा गरेर आँफु पनि सुरक्षित रहि चाडवाड मनाँउ । भावुक हुँदै घिमिरेले भने बाचियो भने चाडपर्व अर्को वर्ष मनाउन पाईन्छ नै , त्यसैले आफु पनि बाचौं र अरुलाई पनि बचाऔं ।

शोक व्यक्त

जापानको नागोयामा रहेकी यशोधा पुन मगर बेलुको असामयिक निधनमा एनआरएनए नागोया र गलकोट समाज जापान क्षेत्रीय समिति कान्तोले शोक व्यक्त गरेका छन ।

शनिवार एक शोक वक्तव्य जारी गर्दै एनआरएनए नागोया समिति र गलकोट समाज जापान कान्तो समितिले पुन मगरको निधनले जापानबासी नेपालीलाई स्तब्ध बनाएको उल्लेख गर्दै मृतकप्रति श्रद्धानजली अर्पण गर्दै शोक सन्तप्त परिवारमा सामवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?