सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

-


     जनहित न्युज    
     पौष २५ गते २०८०


बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बुधबार उक्त सजाय सुनाएको हो ।

सन्दीपबाट थप २ लाख रुपैयाँ क्षतिपूर्ति समेत गरी कुल ५ लाख रुपैयाँ भराउने फैसला भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जनाएका छन् ।

परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तीन वर्षभन्दा भन्दा बढी कैद सजाय हुने कसुरमा सजाय निर्धारणका लागि छुट्टै इजलास बस्नुपर्ने कानुनी व्यवस्था अनुसार बुधबारको मिति तोकिएको थियो ।

उनले आदेशका क्रममा गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर गरेका थिए ।

सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन् ।

यो मुद्दामा दुवै पक्ष पुनरावेदनमा जाने निश्चित भएको छ । सरकारी वकिल पक्षले पीडित बालिग ठहर गरेकामा चित्त नबुझाएकाले पुनरावेदन जाने निश्चित छ । क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा चित्त बुझाएका छैनन् ।

५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६)लाई भेटेका थिए ।

सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

केन्यामा रहेका उनी आफू विरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?