जब मुराकामीको कार हामागुचीले हाँके

-


     श्रीजु सरल    
     जेठ २७ गते २०८०


अघिल्लो हप्ता सन् २०२२ को कान्स विजेता ‘द एइट माउन्टेन्स’ माथि लेखिरहँदा सन् २०२१ को ओस्कारमा उत्कृष्ट विदेशी चलचित्र र २०२१ कै कान्समा उत्कृष्ट पटकथा जित्न सफल जापानी फिल्म ‘ड्राइभ माइ कार’ लाई पृष्ठभूमिमा सम्झिरहेकी थिएँ। अघि पनि दुईपटक हेरिसकेको फिल्ममाथि लेख्ने आँट भने आइरहेको थिएन।

जापानी फिल्म निर्देशक युसुके हामागुचीले जापानी लेखक/साहित्यकार हारुकी मुराकामी लिखित कथामाथि बनाएको यो फिल्म दर्शक मात्र होइन समीक्षक समेतलाई उत्तिकै मोहनी लगाउन सफल मानिएका थोरै फिल्ममध्येको एक गनिन्छ।

मुराकामीका कथा यसै जादुयी त्यसमाथि पनि हामागुचीको तिलस्मी निर्देशनले फिल्म चामत्कारिक रूपमा सुन्दर बनेको छ। फिल्म यस्तो बनेको छ कि लाग्छ यो फिल्म एकपटक हेरेर बिर्सिनका लागि होइन बरु यो त सम्झी सम्झी पटकपटक हेर्नका लागि हो।

तर, किन? के छ फिल्ममा त्यस्तो र बनाइरहन्छ ठाउँ यसले सम्झनाको पार्किङमा? आउनुस्, पार्किङतिरै जाऊँ र मुराकामीको साब ९०० हामी पनि हाँकिहेरौँ! माफ् गर्नुस्, यतिबेला यो कार मुराकामीको होइन, हामागुचीको हो! तर पर्खनुस्, हामागुचीले पनि २०२१ मै दर्शकको हातमा चाबी थमाइसकेका हुन्, त्यसैले यो कार त हाम्रो आफ्नै पो हो! आउनुस्, हामी हाम्रै आफ्नो साब ९०० लाई बडो प्रेम र कौतुहलले हाँकौँ!

ड्राइभर सिटको आडैको फ्रन्ट सिटमा बस्ने यिनी को हुन् भनेर अचम्मित नहुनुस्। यिनी रसियन नाटककार तथा कथाकार एन्टन चेखभ हुन्। ब्याक सिटमा भने तपाईँ सामुअल बेकेट, सिग्मन्ड फ्रायड र रेमन्ड डे ससुरलाई देख्नुहुनेछ।

यो दृश्य अलि अदृश्य छ, होइन? यो देख्नका लागि तपाईँले समग्र फिल्मलाई नै कार कल्पना गर्न सक्नुपर्छ। तर, अब भने फिल्मभित्रको कारबारे नै कुरा गरौँ। त्यहीँ भित्रको कथालाई खोतलौँ, हुन्न?

सामुअल बेकेट र गोदोत

फिल्मभित्र एउटा पात्र छ- युसुके, जो राम्रो कलाकार र नाटक निर्देशकका रूपमा परिचित छ। उसकी श्रीमती ओत्तो पनि एउटी लेखिका एवं टेलिभिजन पटकथाकार हो। यिनै दम्पतीको समागमको दृश्यबाट फिल्म सुरु हुन्छ।

हरेकपटक शारीरिक संसर्गको चरमोत्कर्षमा पुग्दा ओत्तोलाई कथा फुर्नेगर्छ। ऊ त्यही मदहोसीमै लोग्नेलाई कथा सुनाउँछे र भोलिपल्ट बिहान लोग्नेसँग आफूले राति सुनाएको कथा के थियो सोध्छे।

सुरुमा ओत्तोको कथा रुचिपूर्ण हुँदाहुँदै पनि सामान्य नै लाग्छ। एउटी टिनएजर बिरामी भएको बहाना गर्दै स्कुल हापिदिन्छे र आफ्नो क्लासमेट उर्फ् फस्ट लभको घरमा लुकिछिपी छिर्छे, अनुगमन गर्छे। १७ वर्षीय ठिटोको लागि कोठा अति नै सफा हुँदा केटी अनुमान लगाउँछे- केटोका बाआमा अति नै नियन्त्रणकारी रहेछन् !

केटी हरेकपटक छिर्दा केटोको एउटा चिनो आफूसँग लिएर आउँछे र एउटा आफ्नो चिनो केटोकहाँ छोडिदिन्छे। युसुके ओत्तोलाई सोध्छ- ऊ बाआमा र गुरुहरूको नजरमा त विश्वासकी पात्र हो। यसरी चिनो लिने र छोड्ने गर्नु त जोखिमपूर्ण हुन्न र? ओत्तो भन्छे- हो, उसमाथि धेरैको विश्वास छ। तर पनि ऊ आफूलाई रोक्न सक्दिन। ऊ यो जोखिम उठाउँछे।

ओत्तोले मदहोसीमा यो कथा सुनाएको भोलिपल्ट अफिस जाँदै गर्दा युसुके ख्यालै ख्यालमा शंका व्यक्त गर्छ- कतै यसपटकको कथा तेरो आफ्नै फस्ट लभको त होइन?

कथाभित्र कथा हाल्दै फेरि तिनलाई एउटै धागोमा उन्दै जानुमा हामागुचीको विशेषता झल्किन्छ। त्यसो त हामागुचीको कथा भन्ने यो काइदाले सानो छँदा जानी नजानी पातमाथि पात राख्दै, तिनलाई सिन्काले उन्दै दुना-टपरी गाँस्न सिकेको याद आयो। जति प्रयास गर्दा पनि ममीले जस्तो राम्रो गाँस्न नसक्दा अनि हार खाइदिन्थेँ।

मैले अझै पनि राम्रोसँग जानिनँ यो काम। पात गाँस्नु, दुना-टपरी बनाउनु पनि एउटा कला रहेछ! जो कसैको हातमा त्यस्तो कला हुन्छ भन्ने पनि कहाँ रहेछ र?

त्यसो त यो फिल्ममा कथाका पात मात्र होइन, नाटकका पात पनि गाँसिएका छन्। सामुअल बेकेटको ‘वेटिङ फर गोदोत’ फिल्ममा आइरनी बनेर आएको छ। मर्नु र बाँच्नुको दोसाँधको फसिरहेको जिन्दगी गोदोतको चामत्कारिक आगमनले उद्धार भइजाने प्रतीक्षामा छ युसुकेको नाट्य पात्र। तर, यतिबेलासम्म युसुकेलाई दोसाँधको जिन्दगी बाँच्नुपरेको छैन, कुनै गोदोतको प्रतीक्षा गर्नुपरेको छैन।

युसुकेको पात्रभन्दा पृथक छ युसुके- कमसेकम ऊ यस्तै सोच्छ। उसको पात्रले जस्तै गोदोतको प्रतीक्षा उसले नगरे पनि त्यो भूमिकामा ऊ डुबिरहँदा कोही भने उसको प्रतीक्षा गरिरहेकै थियो। तर, उसलाई यो थाहा थिएन जोसँगको भेटपश्चात् उसलाई पनि गोदोतकै प्रतीक्षा रहनेछ। उसले पनि बाँच्नेछ एउटा दोसाँधको जिन्दगी, दोधारको जिन्दगी!

हो, त्यही मञ्चनलगत्तै उसकी स्वास्नीले ऊसँग एउटा युवकको भेट गराउँछे। युवकको अगाडि उसकी स्वास्नी उसको प्रशंसा गर्दै भन्छे- ऊ त हिरोइनहरूको प्रेम पो हो त! त्यसलगत्तैको दृश्यमा उसले आफ्नी स्वास्नीलाई, आफ्नै घरको आफ्नै ओछ्यानमा त्यही युवकसँग भेट्टाउँछ।

कस्तो विरोधाभास! के उसकी स्वास्नी ऊसँग खुसी छैन? सन्तुष्ट छैन? छैन भने, हरेकपटक नयाँ नयाँ कथा फुर्ने गरी चरमोत्कर्षमा ऊ कसरी पुग्छे? छे भने फेरि युवकसँग …? के उसलाई ओत्तोले गर्ने प्रेम नाटक मात्र हो? यदि ओत्तोको प्रेम नाटक मात्र हो भने किन यति ख्याल राख्छे ऊ युसुकेको? नाटकका लाइनहरू आफ्नै आवाजमा रेकर्ड गरिदिएर उसलाई सजिलो पारिदिन्छे! किन ख्याल राख्छे?

युसुकेको जिन्दगीमा दोधार सुरु भइसकेको छ। यो समस्याको हल अब चमत्कार भएमा मात्र सम्भव छ। उसलाई अब गोदोतको चामत्कारिक आगमनको प्रतीक्षा छ!

बेकेटका पात्रहरूसँग मर्नका लागि पर्याप्त कारणहरू छन्। तर, आज डोरी कमजोर छ चुटिनसक्छ भोलि पासो लागौँला भन्दै उनीहरू तर्किन्छन्। भोलि त गोदोत आउला र हाम्री उद्धार गर्ला भनेर उनीहरू मर्न मन लाग्दालाग्दै पनि बाँचिरहन्छन्। र सायद बेकेटलाई यति नै गराउनु थियो- गोदोतको प्रतीक्षा! अथवा विसङ्गतिका बीचपनि गति कायम राख्न लगाउनु थियो। अचानक युसुकेले अनदेखा गरिदिन्छ उसको आँखैअघि भर्खरै के घटना घट्यो। उसले के देख्यो- ऊ बिर्सिदिने प्रयास गर्छ। स्वास्नीसँगको सम्बन्धलाई यथावत् चलिरहन छोडिदिन्छ।

तब, आफ्नो काम तमाम भएको सम्झी कुदिरहेको कारबाट मानौँ बेकेटले हाम फालिदिएको होस्- सन्तुलन गुमाएर युसुके सानो सवारी दुर्घटनामा पर्छ र आफ्नो एउटा आँखाको ज्योति गुमाउँछ! वाह! कथा भन्ने शैली कति बिम्बात्मक! कति काव्यिक! नाटकको प्रयोग, कविताको भाषा अनि कथाको सिलसिला … हामागुचीलाई मान्नैपर्छ।

सिग्मन्ड फ्रायड र रेमन्ड डे ससुर

फिल्मी कारको ब्याक सिटमा फ्रायड र ससुरलाई केही राहत भयो होला अब। किनभने, बेकेट भर्खरै उत्रिसकेका छन्। अब क्रमैसँग यी दुईलाई पनि उतार्दै जाऊँ।

अँ,
अब युसुकेको औत्सुक्य चरम बिन्दुमा पुगिसकेको छ। कतै मदहोसीको बहाना गरेर उसकी स्वास्नी ऊसँग केही भन्न त खोजिरहेकी छैन? आँखाको आधा ज्योति त बाँकी छँदैछ, ऊ घरभित्र छिर्नासाथै बहकिन थाल्छ। सायद, उसको स्वास्नीको प्रेमी छ भन्ने नौलो तथ्यको अघि समेत उसलाई निम्न महसुस भइरहेको हुँदो हो।

जसकारण आफ्नो मर्दाङ्गी पेश गर्ने हुटहुटी पनि सायद बढेको हुँदो हो। घर पुगेलगत्तै ऊ उत्तेजित भई स्वास्नीलाई चुम्न थाल्छ। र स्वास्नी पनि यसरी साथ दिन्छे मानौँ ऊ युगौँदेखि यही नै पर्खिएर बसिरहेकी छे। मानौँ ऊ कुनै प्यासी सिकारी माछी हो। जो अनन्त भोकको मातले लट्टिएर ‘आँ’ गर्दै सिकारको प्रतीक्षा गरिरहेकी होस्।

अघिल्लोपटक उसले भनेकी थिई- कथाकी टिनएजर केटीका आफ्नै मर्यादा छन्। ऊ केटोको सुगन्ध खोज्दै भौँतारिन्छे। आफ्ना भित्री वस्त्रहरू केटाको दराजको गहिराइतिर लुकाई छोडिदिन्छे। उसलाई उत्तेजनामा बहकिन मन भएर आउँछ। तर, ऊ संयमित रहन्छे। उसको मर्यादाले उसलाई केटोको ओछ्यानमा पुगेर बहकिनबाट रोकिदिन्छ।

यसपटकको समागमपछि त्यो रुचिपूर्ण कथा रहस्यमयी भएर अघि बढ्छ। त्यसले मनोविज्ञान र दर्शनको अर्को तह पार गर्छ। ऊ भन्छे- केटोको ओछ्यानमा पल्टिँदै गर्दा अचानक एक दिन केटीलाई थाहा लाग्छ आखिर ऊ को हो र के गरिरहिछे! किन गरिरहिछे। ऊ पूर्वजन्ममा ‘लाम्प्रे’ थिई। तिखा तिखा दाँत गरेकी, ज्याद्रो-खस्रो जिब्रो भएकी हिंस्रक परजीवी माछी, जो अरू माछाहरूको रगत चुसेर बाँच्दथी।

ओत्तो भन्छे केटी लाम्प्रे भए पनि कुलीन लाम्प्रे थिई। ऊ आफै कसैलाई आक्रमण गर्दिनथी। समुद्रमुनि चट्टानमा आड लागेर मुख ‘आँ’ गरेर ऊ केवल प्रतीक्षा मात्र गरेर बस्थी।

उसको आहारा बनेर मुखैनेर आउने माछालाई भने ऊ छोड्दिनथी। यसरी चट्टानमा आड लागेर जिन्दगीभर प्रतीक्षा गरेर बस्दा बस्दा ऊ त्यही चट्टानमा लाग्ने लेउ बनिसकेकी थिई। ऊ सायद प्रतीक्षा गर्दागर्दै मरेकी थिई। र यो जन्ममा पनि केटोको ओछ्यानमा पल्टिएर ऊ त्यही गरिरहेकी छे- प्रतीक्षा!

तर, उसले अब बुझी। पूर्वजन्मको कार्मिक बन्धनबाट उसले अब मुक्ति पाउनैपर्छ। उसले अब मर्यादा तोड्नैपर्छ। तब विगत र वर्तमानबीचको धमिलो रेखा मेटियो। उसले पहिलोपटक केटो उर्फ् उसको फस्ट लभको ओछ्यानमा आफूलाई निर्बाध बग्न छोडिदिई।

उत्तेजनाका उच्छलनसँगै उसका आँखाबाट सन्तुष्टिका आँसु खसे र केटोको सिरानी भिज्यो। त्यसदिन तिनै आँसुलाई उसले चिनोका रूपमा छोडीआई।

अधबैँसे ओत्तोको युवकसँग प्रेम बसेपछि सायद उसले आफूलाई आफ्नै नजरबाट गिर्न नदिन गरेको संघर्ष पो हो कि लाम्प्रे माछीको कथा? कतै कथाको माध्यमबाट ऊ आफूलाई त्यस युवती र उसको प्रेमी ताकासाकीलाई आफ्नो फस्ट लभ कल्पना गर्दै त छैन? त्यसो गर्दा ऊ कमसेकम आफैलाई आफ्नो नजरमा कुलीन देखिरहन पो सक्थी कि?

खैर, अधबैँसे आमाले आफ्नो (भएको भए) छोरोजस्तो उमेरको युवकसँग प्रेम गर्नुलाई ससुरले भने जोकास्टा कम्प्लेक्स नाम दिएका छन्। ओत्तो वास्तवमा लाम्प्रे हो या जोकास्टा? या दुवै? तर, ऊ एउटी निम्फोमेनियाक पात्र हो, यसमा भने दुईमत पक्कै रहनेछैन।

यस लगत्तै ओत्तोको सेरेब्रल हेमरेजका कारण मृत्यु हुन्छ। जोकास्टाको अकस्मात् निधनको शोकमा ससुर कारबाट ओर्लिन्छन्। ओत्तो उर्फ् जोकास्टाको मलामी गएका उनी पुनः कारमा फर्किँदैनन्। अब रियर सिटमा केवल फ्रायड बाँकी छन्।

स्वास्नीको मृत्युपछि एक्लो जीवन बिताइरहेको युसुके दुई वर्षपछि नाटक निर्देशनका लागि बाहिर पुग्छ। त्यहाँ उसका लागि उसैले भनेजस्तै होटेलको व्यवस्था गरिएको हुन्छ। समुद्रको टापुस्थित उक्त होटेलको झ्यालबाट हेर्दा जताततै पानी नै पानी देखिन्थ्यो। सायद, उसले अझै ओत्तोलाई भुल्न सकेको छैन। उसलाई लाग्छ, ओत्तो नै त्यो ल्याम्प्रे माछी हो।

खैर, भनेजस्तो होटेल पाए पनि ऊ त्यहाँ पुगेर एउटा नियममा फस्छ। ड्राइभर राख्नैपर्ने नियमका कारण सुरुमा त ऊ नराम्रोसँग बिच्किन्छ। तर, कुनै उपायले काम नगरेपछि अन्ततः उसले आफूले बडो प्रेमले कुदाउँदै आइरहेको रातो साब ९०० को चाबी एउटी भर्खरकी लेडी ड्राइभरको हातमा सुम्पिदिन्छ। आफ्नो कार अरूलाई कुदाउन नदिनु यहाँ साङ्केतिक रूपमा कामुक अर्थमा आएको छ।

अथवा भनूँ मासोसिस्टिक काइदामा। तर, बिस्तारै-बिस्तारै ड्राइभर मिसाकी र युसुकेबीच एउटा रहस्यमयी आकर्षण पैदा हुन्छ। केही महिनाका लागि प्रोडक्सन कम्पनीले राखिदिएको ड्राइभरलाई युसुकेले नाटक सकिएपछि पनि आफ्नो ड्राइभर राखिदिन्छ।

आफ्नी (बच्चैमा बितेकी) छोरीकी उमेरकी मिसाकीसँगै बसेर युसुके चुरोट पिउँछ। उनीहरू आँखाकै इशारामा एकअर्कासँग कुरा गर्छन्। बाबुको संसर्ग र स्नेहबाट वञ्चित मिसाकीले छोरी गुमाएको युसुकेलाई कहिल्यै बाबु वा अंकल भनेर सम्बोधन गरिन। बरु एउटा साथीको रूपमा व्यवहार गरिरही।

उसका पीडाहरूलाई छोरीले जसरी दुखेर अनुभूत गरिन बरु साथीले जसरी त्यसबाट बाहिर निकाल्ने प्रयास गरिरही। त्यसो त उसलाई पनि कुनै पीडाको चिसो पहाड छिचोल्नु नै थियो। युसुकेको न्यानो अँगालोमा बाँधिँदा उसका जमेका पीडा पग्लिन थालेको दर्शकलाई टड्कारै महसुस हुन्छ पनि।

उता ओत्तो आफ्नो छोराजस्तो युवकसँग सम्बन्धमा हुनु र यता युसुके आफ्नी छोरीजस्ती युवतीसँग आकर्षणमा हुनु। प्रतिस्पर्धा भन्ने कि संयोग? याद गर्नुस् यो फिल्मी कारको चाबी तपाईँ उर्फ् दर्शक कै हातमा छ।

खैर, यसरी अडिपस र इलेक्ट्रा कम्प्लेक्सले जोकास्टालाई काउन्टर दिँदै आखिर फ्रायडको पनि आफ्नो गन्तव्यसँग इन्काउन्टर हुन्छ। यसरी रियर सिट पूर्णतः खाली हुन्छ। मुराकामीको कारमा अब खाली हामागुची र चेखब बाँकी हुन्छन्।

एन्टन चेखब र अंकल वान्या

एन्टन चेखब ड्राइभर सिट अर्थात् निर्देशक सिटको आडैमा फ्रन्ट सिटमा बसेर निर्देशक हामागुचीलाई मार्गनिर्देश गर्दैछन्। युसुकेलाई अब कता डोहोर्याउने? उसको जलनलाई, हीनताबोधलाई कसरी अभिव्यक्त गर्ने? चेखब बताउँछन्, हामागुची पछ्याउँछन्। अर्थात् अंकल वान्या डोहोर्याउँछन्, युसुके पछिपछि लाग्छन्।

युसुकेलाई चेखबको पात्र अंकल वान्या आफूजस्तै लाग्छ। आफ्नो र अंकल वान्याको पीडा समानान्तर बगेको उसलाई महसुस हुन्छ। अंकल वान्याको लागि अडिसन दिन आफ्नी मृत स्वास्नीको प्रेमी ताकासुकी पनि आइपुग्छ। युसुकेले उसलाई अस्त्रोवको भूमिकामा एलेनासँग रोमान्स गर्दै गरेको देख्न सक्दैन।

युसुकेलाई अडिसनको त्यो दृश्यले आफ्नै आँखाअगाडि आफ्नी स्वास्नीसँग रोमान्स गरिरहेको दृश्य सम्झाइदिन्छ। तब, उसलाई जलन हुन्छ। ताकासुकीलाई पनि त थाहा होस् आफूले भोगेको पीडा। उसले पनि महसुस गरोस् न आफ्नो निरर्थक प्रेम र विवाहको तिक्तता! थोरै भए पनि जानोस् आफूभित्रको रिक्तताको अनुभूति!

त्यसैले ऊ अस्त्रोवको भूमिका खोसेर नाटकको सबैभन्दा दुःखी पात्र अंकल वान्याको भूमिका निभाउन दिन्छ ताकासुकीलाई! अंकल वान्याको नाटकीय अस्तित्व र युसुकेको यथार्थ अस्तित्वबीच हामागुचीले एउटा पुल हालेका छन्। जुन पुलबाट इन्टरटेक्स्चुअलिटीको उत्कृष्ट नमुनाहरू वार-पार गर्दछन्।

भाषा

चेखबसँग मिलेर हामागुचीले युसुकेलाई आफ्नो जलन ओकल्न लगाएका मात्र छैनन्, इन्टरटेक्स्चुअलिटीको पुल तर्न मात्र लगाएका छैनन्। अंकल वान्या मञ्चन गर्ने बहानामा नाटक निर्देशक युसुकेले थिएटरमा बहुभाषिक नाटकको प्रयोग गरेको छ। यसको प्रयोगको माध्यमबाट फिल्मले कथालाई बुझ्ने अर्को एउटा कोण थपिदिएको छ।

अंकल वान्यामा कोही पात्र जापनिज बोल्छन्, कोही कोरियन, मन्डरियन, चाइनिज त कोही साङ्केतिक भाषा पनि बोल्छन्। फरक भूगोलका फरक भाषा बोल्ने पात्रहरू एकअर्काको संवाद बुझ्दैनन्, तर भाव बुझ्छन्। मन्डरियन नबुझ्ने जापनिज पात्र मन्डरियन डायलगमाथि जापनिज डायलग फर्काउँछ।

फरक देशका फरक भाषीहरू नाटकमा मात्र नभएर यथार्थमा पनि प्रेमपूर्ण जीवन साथसाथै बाँचिरहेका छन्। प्रेम भएपछि मान्छेले मान्छेको मात्र नभएर कुकुरको भाषा पनि त बुझ्दोरहेछ। तर, एउटै भाषा बोल्ने भए पनि ओत्तोलाई भने किन बुझ्न सकेन युसुकेले?

इरोटिसिजम

कामुक फिल्म भनिएर पनि खुब चर्चा कमाएको ड्राइभ माइ कारको कामुकता पहिल्याऔँ। सतही नजरले हेर्दा वस्त्र उतारेर सम्भोग गरेको दृश्य मात्र इरोटिक हो कि जस्तो लाग्न सक्छ।

यस्तो बुझाइले इरोटिसिजम आर्ट कम र भल्गरिटी ज्यादा प्रतीत भइदिन्छ। इरोटिसिजममा आर्ट खोज्ने हो भने न्युडिटीको सीमितताबाट बाहिर निस्किनैपर्छ।

ओत्तोले टिनएजर केटीको कथा सुनाउँदै गर्दा लाम्प्रेको उदाहरण दिनुमा इरोटिक आर्ट भेट्न सकिन्छ। केटीले सिरानीमा खसालेको आँसुमा इरोटिक आर्ट भेट्न सकिन्छ। एलेना र अस्त्रोवले ज्याकेट फुकालेर मात्र अडिसन सुरु गर्नु, दुईको रोमान्स देखेर निर्देशक झिँझिनुमा इरोटिक आर्ट पाउन सकिन्छ।

एकअर्काप्रति आकर्षित हुँदै गरेका मिसाकी र युसुके लङ ड्राइभमा जाँदा खुला आकाशमुनि बिस्तारै हाँकिएको कारले सुरुङ मार्ग छिरेसँगै रफ्तार बढाउनुमा पनि भेटिन्छ इरोटिक आर्ट।

त्यसो त, मुराकामीबाट सापटमा लिइएको फिल्मको शीर्षक र कारको रातो रङ्गले पनि इरोटिक आर्ट नै बिम्बित गर्छ।

पुनश्च:

जाँदाजाँदै, यति लट्ठ्याउने गरी फिल्म मीठो हुनुको श्रेय पो कसलाई दिनु? ड्राइभर सिटमा बस्ने हामागुचीलाई कि उनको छेउमा बसेर बाटो देखाउने चेखबलाई? या फेरि ब्याक सिटमा बस्ने फ्रायडलाई? मलाई त भन्न गाह्रो भयो, तपाईँले भनिदिनुस् न है!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?