एमसीसी उपाध्यक्ष र प्रधानमन्त्री बीच भेट:राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाइने प्रधानमन्त्रीको आश्वासन

-


     जनहित न्युज    
     भाद्र २५ गते २०७८


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष सुमारसहितको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।

प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) अगाडि बढाउन आफूले राजनीतिक छलफल गरिरहेको बताएका छन् ।  बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल गरिरहेको बताएका हुन् ।

‘एमसीसी अगाडि बढाउन मैले प्रयास गरिरहेको छु,’ उनले भने, ‘हामी सकारात्मक छौँ तर सत्ता गठबन्धनमा आबद्ध भएका दलहरूलाई मनाउने प्रयास गरिरहेको छु । उनीहरूसँग छलफल गरेर एमसीसी अगाडि बढाउँछु ।’ 

भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी परियोजना संसदबाट छिट्टै अनुमोदन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन् । ‘एमसीसी संसदबाट छिटो अनुमोदन हुनेछ भन्ने मलाई विश्वास छ,’ उनले प्रधानमन्त्री देउवासँगको भेटमा भनिन्, ‘यो परियोजनाले नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्छ भन्ने विश्वास हामीलाई छ । ‘ 

प्रधानमन्त्री उपाध्यक्ष सुमारको टोलीसँग एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताएका छन् । भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सहउपाध्यक्ष जोनाथन ब्रुक्स लगायत सहभागी थिए । बिहीबार नेपाल आएको सुमारको टोलीले सुरुमा नेकपा एमालेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो ।

भेटमा अध्यक्ष ओलीले आफूहरु अहिले प्रतिपक्षमा रहेकाले एमसीसी अघि बढाउने नबढाउने जिम्मा सत्ता पक्षको भएको बताएका थिए । त्यसपछि टोलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतसँग भेट गरेको थियो । भेटमा उनीहरुले राष्ट्रिय सहमति गरेर मात्रै एमसीसी अघि बढाउने जवाफ टोलीलाई दिएका थिए ।

शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टोलीले भेट गरेको थियो । भेटमा अध्यक्ष प्रचण्डले पनि एमसीसीबारे नेपालमा ठूलो बहस चलेकाले त्यसलाई अघि बढाउन राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका थिए ।

कांग्रेसले संसदबाट एमसीसी पास गराउन चाहेपनि सत्ता गठबन्धनका अन्य दल तयार भएका छैनन् । सुमारको टोलीले उर्जामन्त्री पम्फा भुसालसँग पनि भेट गरी एमसीसी कार्यान्वयन गर्न सहयोग मागेकी थिइन् ।

I had the pleasure to receive Vice President of MCC @FatemaDC today. We exchanged views on Nepal-US cooperation including MCC Compact and its potentials for Nepal’s economic transformation. pic.twitter.com/SVZT1Eea1P

— Sher Bahadur Deuba (@SherBDeuba) September 10, 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?