गलकोट समाज जापानद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

-


     जनहित न्युज    
     असार २६ गते २०७८


गल्कोट समाज जापानद्धारा धौलागिरी अञ्चल अस्पताललाई अक्सिजन बैंक स्थापनाका लागि अक्सिजन सिलिण्डर सहयोग प्रदान गरिएको छ ।
कोरोना संक्रमित बिरामीको उपचारको लागि सहज बनाउन अस्पतालले स्थापना गरेको अक्सिजन बैक लाई १० थान अक्सिजन सिलिन्डर एक कार्यक्रम बिच गलकोट समाज जापानले हस्तान्तरण गरेको छ ।

अस्पताललाई गलकोट समाज जापानले नगद २ लाख ५ हजार बराबरको अक्सिजन सिलिन्डर अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष के बी राना मगर र मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरेल लाई अस्पतालमा एक कार्यक्रम गरि हस्तान्तरण गरेका थिए । बागलुङ जिल्लामा कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्ट फैलिएसंगै अस्पतालमा भर्ना हुने बिरामी लाई अक्सिजन अत्याधिक मात्रामा आवश्यक भएपछि अस्पतालले अक्सिजन बैंक स्थापना गरेपछि सहयोग गर्ने क्रम बढेर गएको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

सिमित स्रोत साधनका बावजुत कोरोनाविरुद्ध सङ्घर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले यसअघि पनि पहिलो चरणमा घुम्टे युवा परिवार जापान शाखा,गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियो र हार्मोनी ईन्टरनेसनल स्कुलको सहकार्यमा निकै उपयोगि स्वास्थ्य सामाग्री जापानबाटै पठाईसकेको थियो।

देशभर फैलिएको कोभिड–१९ को दोस्रो लहरसगै हाम्रो गृह जिल्लाको एकमात्र कोरोना उपचार केन्द्र धौलागिरी अञ्चल अस्पतालमा अक्सिजनको आवश्यकता पर्ने जटिल प्रकृतिका बिरामीको संख्या अत्याधिक वृद्धि भएसगै उपचारका लागि निकै कठिन भएको जानकारी पाए लगत्तै सिलिण्डर उपलब्ध गराएको गल्कोट समाज जापानका अध्यक्ष यम खत्रीले बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गल्कोट समाज जापान अन्तर्गतको मानविय सेवा तथा विपद व्यवस्थापन समितीले “कोरोना विरुद्ध जापानबासी गल्कोटेको साझा अभियान”नामक आर्थिक संकलन अभियान सुरु गरेको थियो। कोरोना महामारीले देश आक्रान्त बनेको, सङ्क्रमितले उपचार नपाएको, अक्सिजनसहित स्वास्थ्य सामग्री/उपकरणको अभाव रहेको खबरले छोएपछि आफूहरुले अक्सिजन सिलिण्डरको जोहो गरि धौलागिरी अञ्चल अस्पतालले पहिलो प्राथामिकतामा राखी निर्माण गर्न लागेको अक्सिजन बैङ्कलाई छिट्टै पुरा होस् भन्ने उदेश्यले सोहि अभियानबाट केहि रकम छुट्टाएर सहयोग गरेको विपद व्यवस्थापन समितीका संयोजक रत्नसिंह बस्नेतले बताउनु भयो ।


महामारीसँग जुधिरहेको आफ्नो देशप्रतिको कर्तव्य सम्झेर प्रवासी नेपालीले पठाएको सहयोग अमूल्य रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राना मगरले बताउनुभयो । उहाँले अस्पताललाई प्राप्त सहयोगको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो कोरोनाको संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिण्डर अभाव भइरहेका बेला समाजले अस्पतालका लागि सिलिण्डर उपलब्ध गराएको समाजका महासचिव नविन निउरेले जानकारी दिनुभयो ।


गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोका सचिव दिनेश थापालगायतले जापानबाट सिलिण्डर जुटाउन आवश्यक समन्वय र पहल लिनुभएको थियो । कोरोना महामारीमा थोरै भए पनि राज्यलाई सहयोग होस् भनेर स्वास्थ्य सामाग्री लगाएत सिलिण्डर हस्तान्तरण गरेको र महामारीको यो विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देश विदेशबाट सबैले सहयोग गर्नुपर्ने थापाले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?