
टोकियो, जापान ।
जापानमा बसोबास गर्ने नेपाली हिन्दू समुदायलाई आफ्नो धर्म, संस्कृति र अध्यात्मसँग जोड्ने उद्देश्यले आगामी फेब्रुअरी १४ देखि १६ तारिखसम्म भव्य ‘शिव महापुराण तथा महाशिवरात्री मेला’ आयोजना हुने भएको छ।
पर्वत समाज जापानको आयोजनामा हुन लागेको यस धार्मिक महोत्सवले प्रवासमा रहेका नेपालीहरूमा धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
“धर्म, संस्कृति र सेवाको यो महाअभियानमा सहभागी बनौं” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष राम बास्तोलाले प्रवासमा नेपाली पहिचान र परम्परालाई जीवन्त राख्न यो महोत्सव कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। तीन दिनसम्म चल्ने यस धार्मिक अनुष्ठानमा शिव महापुराणको पाठ पारायण, विशेष पूजा-आरती, भजन-कीर्तनका साथै सांगीतिक कथा प्रवचन जस्ता विविध आध्यात्मिक कार्यक्रमहरू समेटिएका छन्।
कार्यक्रमको तालिका अनुसार पहिलो दिन फेब्रुअरी १४ तारिख शनिबार बिहान पूजा-अर्चना, आरती तथा पुष्पाञ्जलीबाट महोत्सवको विधिवत् शुभारम्भ गरिनेछ। सोही दिन दिउँसो पाठ पारायण र सांगीतिक कथा प्रवचनपछि साँझमा ख्यातिप्राप्त कलाकारहरूको साथमा सामूहिक भजन संकीर्तन आयोजना गरिनेछ।
महोत्सवको दोस्रो दिन फेब्रुअरी १५ तारिख आइतबार महाशिवरात्रिको मुख्य अवसर परेकाले उक्त दिन विशेष पूजा, बोलबम अर्पण, महामृत्युंजय संकीर्तन र शिवरात्री विशेष सांगीतिक प्रवचनका साथै सहयोगी दाताहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, तेस्रो तथा अन्तिम दिन फेब्रुअरी १६ तारिख सोमबार पनि पूजा-आरती र पाठ पारायणलाई निरन्तरता दिँदै विशेष समापन सत्रको आयोजना गरी महोत्सवको बिट मारिनेछ।
यस विशेष धार्मिक महोत्सवको मुख्य आकर्षणको रूपमा चर्चित कथा वाचक पण्डित श्री गिरिराज पौडेल रहनुहुनेछ। उहाँको मुखारविन्दबाट वाचन हुने शिव महापुराण र सुमधुर सांगीतिक प्रवचनले भक्तजनहरूलाई आध्यात्मिक आनन्द प्रदान गर्ने आयोजकले जनाएको छ।
टोकियोस्थित ‘बारकाडे गुड टाईम्स’ (BARCADE Good Times) हलमा आयोजना हुने यस कार्यक्रमलाई गैरआवासीय नेपाली संघ (NRNA) जापान लगायतका विभिन्न नेपाली संघ-संस्थाहरूले सहयोग गरेका छन्। आयोजक पर्वत समाज जापानले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो परिवार र बालबालिकासहित उपस्थित भई यस पावन अवसरको लाभ उठाउन हार्दिक निमन्त्रणा गरेको छ।



