वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका म्याग्दीको मंगला गाउँपालिका– ५ सिर्कुमका २७ वर्षीय प्रकाश जैसी भन्ने प्रकाश विकलाई साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल झिकायो ।
ब्यूरोमा परेको जाहेरीका आधारमा ४ महिनाअगाडि इन्टरपोल नेपाल शाखामार्फत ‘रेडकर्नर नोटिस’ जारी गरी साउन १४ गते नेपाल झिकाइएको थियो । प्रहरीले उनलाई साउन १६ गते सार्वजनिक गर्यो ।
‘उनीविरुद्ध साइबर अपराधको जाहेरी परेपछि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याएका हौं,’ साबइर ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले भने ।
विक ७ महिनाअगाडि मात्र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । उनलाई मलेसियाको प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि नेपालमा डिपोर्ट गरेको थियो ।
उनी सामाजिक सञ्जालमार्फत बसेको प्रेम र त्यसको दुरुपयोगका कारण पक्राउ परेका हुन् ।
प्रेम कहानीदेखि ‘जापान काण्ड’सम्म…
म्याग्दीको बेनीकी २३ वर्षीया जेनिसा (नाम परिवर्तन) जापानमा छिन् ।
उनी विगत २ वर्षदेखि अध्ययनका लागि जापान बस्दै आएकी हुन् । पक्राउ परेका प्रकाश विकसँग शुरूमा उनको सामान्य चिनजान थियो । दुवै म्याग्दीकै भएकाले सामान्य चिनजान भएको हो ।
तर, जेनिसा जापान गएपछि भने उनीहरू सामाजिक सञ्जालमा बाक्लै कुरा गर्न थाले । त्यो कुराकानी प्रेममा परिणत भयो । दैनिक घण्टौंसम्म कुराकानी हुन्थ्यो ।
प्रकाशले जापान जानका लागि विभिन्न प्रयास गरे, सफल हुन सकेनन् ।
त्यसपछि ७ महिना अगाडि मात्र वैदेशिक रोजगारीमा मलेसिया गए । त्यहाँबाट पनि उनीहरूको कुराकानी भइरहन्थ्यो । सामाजिक सञ्जालमार्फत करिब १ वर्ष उनीहरूको प्रेम सम्बन्ध चल्यो ।
उनीहरूबीच प्रत्यक्ष भिडियो कुराकानी हुन्थ्यो । पछि विस्तारै कुराकानी पातलियो । जेनिसाले कामको व्यस्तताले समय दिन सकिनन् ।
तर, प्रकाश उनीप्रति पागल भइसकेका थिए । एक घण्टा कुराकानी नहुँदा पनि रिसाउने र बारम्बार कल गर्ने गर्थे । चाहेको बेला कुराकानी हुन नसकेपछि जापानमा अर्कै प्रेमी भेटेर आफूलाई वास्ता नगरेको आरोप प्रकाशले लगाए । यही विषयलाई लिएर उनीहरूबीच झगडा भयो ।
त्यसपछि निम्तियो तनाव । प्रकाशले कुराकानीको सबै भिडियो रेकर्ड गरेर राखेका रहेछन् । नग्न भएर गरेको कुराकानीको भिडियो समेत उनीसँग सुरक्षित रहेछ ।
प्रकाशले रिसको झोंकमा आफूले रेकर्ड गरेको भिडियो जेनिसाका आफन्तलाई पठाउन थाले ।
आफन्त र दाजुभाइले त्यसो नगर्न प्रकाशलाई सम्झाइरहेका थिए, तर उनी रोकिएनन् । निरन्तर भिडियो पठाइरहे ।
एक दिन उनले पोर्न साइटमा ‘नेपाली भा..को जापान काण्ड’ भनेर भिडियो अपलोड गरिदिए ।
त्यसपछि त्यो भिडियो संसारभरि फैलियो । जेनिसाले पनि देखिन् । आफ्नी दिदीलाई सम्पूर्ण वृत्तान्त सुनाइन् र साइबर ब्यूरोमा उजुरी हालिदिन आग्रह गरिन् ।
उनकी दिदीले म्यादीको बेनीबाट काठमाडौं आएर साइबर ब्यूरोमा प्रकाशविरुद्ध जाहेरी दिइन् ।
त्यसपछि प्रहरीले प्रकाशका गतिविधिहरू सूक्ष्म अनुसन्धान गर्यो ।
प्राविधिक अनुसन्धानपछि उनी वैदेशिक रोजगारीका लागि गएको मेलेसियाको सबै ठेगाना, उनले भिडियो अपलोड गरेको ‘आईपी’ लगायतका प्रमाण पुष्टि गर्यो ।
अनुसन्धानमा उनी दोषी देखिएपछि पक्राउका लागि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरियो ।
साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीका अनुसार प्रहरीले उनले अपलोड गरेको भिडियो हटाउनका लागि पोर्नसाइटमा पत्र समेत पठाएको छ ।
‘हामीले त्यो वेबसाइटलाई पत्र पठाएका छौं, सम्भवतः हटाइसक्यो होला, तर सञ्जालबाट पूरै निष्क्रिय भने भएको छैन,’ इन्स्पेक्टर खड्गीले भने ।
पक्राउ परेका प्रकाशले आफूले भिडियो अपलोड गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा स्वीकारेका छन् । रिसको झोंकमा त्यसो गरेको उनको बयान छ ।
‘प्रकाशले बयानमा आफूले भिडियो अपलोड गरेको स्वीकारेको छ,’ खड्गीले भने । अहिले विद्युतीय कारोबार ऐन– २०६३ अन्तर्गत उनीमाथि अनुसन्धान भइरहेको छ ।यो सामग्री लोकान्तरका लागि गगन अर्यालले लेखेका हुन ।