टोकियो ओलम्पिक २०२० : सकियाे ओलम्पिक, तीन वर्षपछि फ्रान्समा, पदकमा अमेरिकाले बाजी मार्‍यो

-


     जनहित न्युज    
     श्रावण २४ गते २०७८


जापानमा जारी गृष्मकालिन ओलम्पिक अाइतबार समाप्त भयाे। टोकियो रंगशालामा आयोजित विशेष समारोहकाबीच ओलम्पिक सम्पन्न भएकाे हाे। गत बर्षनै हुनु पर्ने ओलम्पिक कोरोनाको संक्रमणका कारण एक वर्षपछि सरेको थियो। यसपाली पनि निक्कै विरोधकाबीच यो खेल सकिएको छ। यसका लागि जापानले संकटकालनै लगाउनु पर्यो। 

पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ ।

तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित विश्व खेलकुदको महाकुम्भ- ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मार्‍यो । अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक जितेको थियो ।

आयोजक जापान २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित कुल ५८ पदकका साथ तेस्रो स्थानमा छ । बेलायत २१ स्वर्ण, २१ रजत र २२ कास्य सहित कुल ६४ पदकका साथ चौथो स्थानमा रहँदा २० स्वर्ण,२७ रजत र २३ कास्यसहित कुल ७० पदक जितेको रसियन ओलम्पिक कमिटी पाँचौँ स्थानमा छ । टोकियो ओलम्पिक हालसम्म ६५ राष्ट्रले स्वर्ण हात पार्दा कुल ९५ राष्ट्रले पदक जितेका छन् । 

यस ओलम्पिकको अन्तिम स्वर्ण पदक जित्ने टोली सर्वीया भएको छ । पुरुष वाटर पोलोको फाइनलमा सर्वीयाले ग्रिसलाई हरायो । हंगेरी कास्य पदक जित्न सफल भयो ।

टोकियो ओलम्पिकको समापन समारोहमा नेपालको झण्डा भोलेन्टियरले बोकिन

टोकियो ओलम्पिकको समापन समारोहमा नेपालको झण्डा एक भोलेन्टियरले बोकेकी छिन्। नेपाली खेलाडी आफ्नो स्पर्धामा सहभागी भएर नेपाल फर्किसकेका छन्। 

जारी ओलम्पिकमा नेपालका तर्फबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए। पाँचमध्ये तीन खेलाडीले प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाए। तर समग्रमा नेपाल पुछारभन्दा केहीमाथि मात्रै रह्यो।

नेपाली पौडीमा एकछत्र राज गर्दै आएकी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा १.००११ मिनेटको समय निकाल्दै लङ कोर्समा राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्।

त्यस्तै अलेक्जेन्डर (एलेक्स) शाहले पुरुष १ सय मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डको समय निकाल्दै आफ्नै कीर्तिमान भंग गरे।

त्यस्तै कल्पना परियारले सुटिङ्गको १० मिटर एयर राइफलमा ६१६.८ स्कोर गर्दै पहिलो दिन आफ्नै नामको दुई वर्ष पुरानो कीर्तिमान तोडिन्। जुडोकी सोनिया भट्टको भने ओलम्पिकमा पहिलो बाउट जित्ने चाहना नै पूरा भएन। एथलेटिक्सकी सरस्वती चौधरीले आफ्नै कीर्तिमान भंग गर्न सकिनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?