गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको छ ।
जापानमा रहदा नेपालीलाई परेका समस्या अप्ठ्यारा र सूचना जानकारी आदानप्रदानको सहजताका लागि उपयोग हुने गरि हटलाइन टेलिफोन सेवा संचालनमा ल्याइएको एनआरएनए जापानले जनाएको छ ।
भाषा, भैपरी आउने मानवीय सहयोग, दैनिक जीवनमा परेका समस्याको सुनवाई र कार्यान्वयनका लागि हटलाइन टेलिफोन सार्वजनिक गरेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए । उनका अनुसार +८१ ८० ६३५२ ८२८६ नम्बरको टेलिफोन नम्बर एनआरएनए जापानको हटलाइन टेलिफोन रहेकोले अत्यावश्यक समस्या, जरुरी सूचना जानकारीको लागि मात्र उपयोग गर्नका लागि आग्रह गरेका छन ।
एनआरएनए जापानलाई जापानबासी नेपालीको नजिकको सहयोगी निकायको रूपमा अनुभूति गर्न सकून् भन्ने मान्यतालाई आत्मसात् गर्दै एनआरएनए जापानलाई पहुँच योग्य बनाउन हटलाइन टेलिफोन सार्वजनिक गरिएको बताउदै महासचिव टिकाराम खरेलले अत्यावश्यक समस्या र जानकारीको लागि मात्र यो सेवा उपयोग गरिदिनको लागि अनुरोध गरेका छन ।
‘एनआरएनएलाई सबै नेपालीले ‘हाम्रो र राम्रो’ भन्ने महशुस गर्न सकून् भन्ने उद्देश्य हाम्रो रहेको छ ।’ महासचिव खरेलले भने-आफ्नो देश छाडेर विदेशी भूमिमा रगत पसिना बगाइरहेकाहरुलाई सानो भन्दा सानो अप्ठ्यारोमा पनि सहयोग गर्न सकियो भने उनीहरूलाई परिवारकै साथमा रहेको जस्तो अनुभूति गराउन यो सेवा प्रभावकारी हुने छ ।