जापानको सांगीतिक कार्यक्रममा प्रकाशले गाउदा परदेशी नेपाली दर्शकको भक्कानो छुट्यो, इश्वरले सबैलाई नचाए

- रचनाले दर्शकलाई मन्त्रमुग्ध बनाउदा श्रीकृष्णले नाच्न बाध्य पारे

-


     जनहित न्युज    
     पौष २२ गते २०७९


एकातिर गीत र अर्कातिर गीतमार्फत सन्देशप्रद विचार राखेर गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका-२०२३ मा कलाकार प्रकाश सपुतले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई देशको वर्तमान अवस्थाका कारण लाखौ नेपाली जनशक्ति विदेशिन वाध्य हुनुपरेको बारेमा चोटिलो प्रहार गर्दै त्यस तर्फ विशेष ध्यान पुर्याउन आग्रह गर्दै भने- मेरो पनि हैन र यो देश मेरो पनि हैन र ……..प्रकाशले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर गीत संगीतमार्फत अनुनय गरे।

विदेशमा जतिसुकै सुविधायुक्त वातावरण रहेपनि पनि हरेक नेपालीलाई आफ्नै माटों प्यारो लाग्ने आफ्नै सस्कृति उकृष्ट लाग्ने, आफ्नै माटोमा बगाएका पसिनाको सुगन्ध मिठो लाग्ने भनेर मिठो साँगीतिक प्रस्तुति प्रस्तुत गर्दा जापानबासी नेपालीलाई निकै भावुक बनाए ।
आमाले बनाएर दिएको आटो र गुन्द्रुकसँग यहाँको सुसी तुलना नै गर्न सकिदैन, मूलको पानीले जसरी फ्रिजको चिसो पानीले तिर्खा मेटिदैन भन्दै प्रकाशले साँगीतिक प्रस्तुति दिइरहदा परदेशी नेपालीलाई भावुक बनाउदै आफ्नै गाउठाउ र बनपाखामा पुग्न बाध्य पारेका थिए । परदेशी नेपालीको मन चहारेका उनले गीतबाटै दर्शकलाई पनि उतै लगे ।
‘किन्न त पाईन्छ पानी फ्रिजको अनि हावा एसीको
तर तिर्सना मेट्दैन गाउ गाउबेसीको
यस्तै छ कहानी परदेशीको’

‘छाती चर्क्यो चरर चरर मया, आँशु खस्यो बरररर मया, गाउघर सम्झी रुन्छु म धररर’ …….भन्ने गीतमा हरेक परदेशीको व्यथालाई कथामा बुनेर अभिनय सहितको प्रकाशले प्रस्तुति गरिरहदा हरेक दर्शकलाई आफ्नै संसारमा डुलाउदा सबै सबैका आँखामा आँशु टिल्पिलाएका थिए । 

जापानमा पहिलो पटक गलकोट समाजद्वारा आयोजित साँगीतिक धमाकामा प्रस्तुति दिन आएकी अनि चकलेटी गायिकाको उपमा पाएकी पछिल्लो दिनमा अत्यन्तै व्यस्त गायिका रचना रिमालले आफ्ना प्रस्तुति मार्फत जापानवासी दर्शकको मन मनमा बस्न सफल भएकी छन । उनका प्रस्तुतिले मात्र होईन उनीसँगको तस्विर लिन र टिकटक बनाउन दर्शकको भिड नै लागेको थियो । सानो उमरमै सयौ गीत गाएर चर्चाको शिखरमा रहेकी रचनाले आफूद्वारा स्वरबद्द गरेका चर्चित गीत ‘फोटो फिरिम फिरिममा’ ‘उनको पिरती पहिले हो की’, ‘ढुंगे धारा, ‘सम्झनी पानी छम्कनी’ पोखरेली माया ’लगायत गीत गाइन ।

आफूलाई संगीत क्षेत्रमा सर्जकको रूपमा चिनाउन रुचाउने गलकोटे माटोमा जन्मिएर संगीत कर्मलाई नै व्यावसायिक पेशाको रूपमा अंगालेका कुशल संगीतकार तथा गायक समेत रहेका श्रीकृष्ण बम मल्लले आफ्ना सृजनाको प्रस्तुतिमार्फत दर्शक र संगीतकारको दूरी घटाउने उपयुक्त थलोका रूपमा जापानका शहरहरूमा दिएका सांगीतिक प्रस्तुतिहरू हुन पुगे । ‘लोभी आँखा’ ‘ निरमाया ठुली’, ‘ डाँडाघरे साइली’, ‘बागलुङ गलकोटैमा मेरो घर’ लगायत उनले आफूले सृजना गरेका चर्चित सृजना प्रस्तुत गरेर जापानबासी नेपाली दर्शकको मन जित्न सफल भएका थिए ।

आफू जन्मेको गलकोट क्षेत्रमा स्वास्थ्य सामग्री उपलव्ध गराउन गलकोट समाज जापानले आयोजना गरेको सांगीतिक धमाकामा आफ्नो सांगीतिक प्रस्तुति दिएर प्रत्यक्ष सहभागी गराई परोपकारी कार्यमा सहभागी हुन पाएकोमा गौरव गर्दै गलकोटमा जन्मिएर लोकसंगीत अन्तरगतको पञ्चेबाजाका गीतमा विशेष चर्चित रहेका गायक इश्वर सिंहले दिएका प्रस्तुतिले दर्शकलाई ननाची बस्न नै सुख दिएनन ।

उनका चर्चित पञ्चेबाजाको गीत ‘शिरफूल शिरको’ ‘फूल पहेलै’, ‘यानीमाया’ ‘साइली’ गाउदा दर्शकहरू नाच्दा आयोजकलाई भिड थाम्न हम्मे हम्मे परेको थियो भने ‘मादी दोभान’, आँशु बरबर’ लगायत गीत प्रस्तुत गर्दा भावुक समेत बनाएर दर्शकको मनमनमा राज गर्न सफल भएका थिए ।

गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२३ को अवसरमा ‘गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ सांगीतिक धमाका-२०२३’ अन्तर्गत जापानका चार वटा शहरमा डिसेम्बर २७ तारिख फुकुओका, डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा साँगीतिक प्रस्तुति सहितको कार्यक्रम सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?