लोक कलाकारसंगै झुमे जापानबासी नेपाली

-


     जनहित न्युज    
     पौष २० गते २०८०


साँगीतिक धमाका २०२४ कार्यक्रमका लागि गलकोट समाज जापानको आमन्त्रणमा जापानमा रहेका गायक खेम सेञ्चुरी, रेशम निर्दोश र अमृता नेपालीले आइतवार ओसाका सोमबार नागोया र मंगलबार टोकियोमा आयोजित साँगीतिक कार्यक्रममा कलाकारहरु सँग दर्शक मज्जाले झुमेका थिए।
लाखौं नेपालीका ढुकढुकी बन्न सफल कलाकार सेन्चुरी निर्दोश र नेपालीलाई आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानबासी हजारौं नेपाली हर्षले विभोर हुँदै उनीहरुका प्रस्तुतिमा कम्मर मर्काई मर्काई नाचेका थिए।

नेपाली लोक कलाकारहरुको प्रस्तुति सँगै फेरिएको माहौल र उनीहरूप्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । सँगै नाच्ने गाउने र सेल्फी खिच्ने नेपालीहरुद्वारा घेरिएका गायक गायिका आफै पनि प्रवासमा रहेका नेपाली बिचमा आफुलाई पाउँदा प्रफुल्ल देखिन्थे ।

विदेशमा बसेपनि नेपाली भाषा र सँस्कृतिलाई कहिले नभुल्न आग्रह गर्दै कलाकारहरूले भने – ‘हाम्रो जस्तो मौलिक लोक संस्कृति र सभ्यता संसारमा अन्त कतै छैन, यसमा हामीले गर्ब गर्नुपर्छ, नेपाली गीत-संगीतलाई पनि माया गरिदिनुहोला । नयाँ पुस्तालाई देशको माटोसंग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गर्न यस्ता साँगीतिक कार्यक्रमले अझ थप सफलता मिलोस्’ – उनीहरूले भने ।

जापानमा पहिलो पटक गलकोट समाजद्वारा आयोजित साँगीतिक धमाकामा प्रस्तुति दिन आएका पछिल्लो पुस्ताका लोकप्रिय गायक खेमले आरेली काडैले च्वास च्वासै, कमाउनी नी हो रमाउनी नी हो, सोचे झै जिन्दगी रैनछ, झ्यालमा पर्दा छ गीत प्रस्तुत गर्दा सँगै नाँच्नेहरुको भीडलाई थेग्न आयोजकलाइ गारो परेको थियो ।

गलकोटे माटोमा जन्मिएर संगीत कर्मलाई नै व्यावसायिक पेशाको रूपमा अंगालेका कुशल लाईभ लोक दोहोरीमा आफूलाई अब्बल सावित गरेका निर्दोषले नानी दिन्छेउ र मलाई बाबु दिन्छेउ र बोलको पन्चेबाजामा आधारित गीत रेशम निर्दोषले मञ्चमा गाउँदा सम्पूर्ण दर्शकले एकैसाथ नाच्दा साँगीतिक माहौल नै रोमाञ्चित बनेको थियो । मञ्चमा आधा दर्जन गीत प्रस्तुत गर्दा स्टेजको लागि नै रेशम जन्मेको भन्ने प्रतिक्रिया दर्शकहरुले दिएका थिए।
आफू जन्मेको गलकोट क्षेत्रमा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले गलकोट समाज जापानले आयोजना गरेको सांगीतिक धमाकामा आफ्नो सांगीतिक प्रस्तुति दिएर प्रत्यक्ष सहभागी गराई परोपकारी कार्यमा सहभागी हुन पाएकोमा रेशमले खुशी समेत व्यक्त गरे।

कर्णप्रिय लोकभाका सहित पन्चेबाजामा आधारित गीतहरूमा प्रस्तुति दिएकी अमृता नेपालीले आफ्ना प्रस्तुति मार्फत जापानवासी दर्शकको मन मनमा बस्न सफल भएकी छन भने दर्शकहरुले भरमग्दुर मनोरञ्जन समेत लिएका थिए ।
समाजले कलाकारहरुलाई मायाको चिनो, समाजको लोगो अंकित मेटल ब्याच सम्मान पत्र समेत प्रदान गरेको कार्यक्रमका उप संयोजक तथा समाजका उपाध्यक्ष लोकेश खत्रीले जानकारी दिए।

गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२४ को अवसरमा ‘गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रका लागि अक्षयकोष वृद्धि सहयोगार्थ साँगीतिक धमाका-२०२४’ अन्तर्गत जापानका ३ वटा शहरमा डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा साँगीतिक प्रस्तुति सहितको कार्यक्रम सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?