गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । केही उम्मेदवारहरुले टीम परिवर्तन गर्न थालेका छन् ।
अध्यक्षका प्रत्यासी बद्री केसीको टीममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन् ।
केसीको टीमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ(जापान)र लोक दाहाल(बेल्जियम)ले केसीको साथ छाडेका छन् । उनीहरु दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टीमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् ।
केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफूँ पक्षीय उम्मेदवारहरुको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए । केसीको साथ छाडेर आचार्यको टीममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टीमबाट उम्मेदवारी दिने बताए । श्रेष्ठले आइसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।
एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबरको २३(२५ मा काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्री केसीले मंगलबार साँझ उम्मेदवारी घोषणा गर्ने छन् ।
उम्मेदवारी घोषणा गर्नु भन्दा ठीक एक दिनअघि उपाध्यक्ष केसीलाई दुई महत्वपूर्ण पदाधिकारीले छाडेका छन् ।
आइतबार साँझ आयोजित डबली संवाद (भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा आचार्यले व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताउनुभयो । नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन् ।
‘कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु’, दाहालले भन्नुभयो । बेल्जियमबाट उहाँ अहिले काठमाडौं आइपुग्नुभएके छ । त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका महेश श्रेष्ठले पनि आचार्यका प्रतिबद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै टिमबाट निर्वाचनमा सहभागी हुने बताए ।
हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरुको सूचीमा राखेको प्रति असहमति जनाए । ‘म बद्री केसीको टिममा छैन, मेरो समर्थन कुल आचार्यलाई छ’, श्रेष्ठले भने छ । आचार्यको टिमबाट महासचिवमा डा.केशव पौडेल (अमेरिका)र महिला उपाध्यक्षमा जानकी गुरुङ्ग (बेल्जियम) ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।
विचार मिल्नेहरुको सहकार्य : आचार्य
यसैबीच, अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूँले कुनै प्यानल नबनाएको स्पष्ट पारे। संघको विधान अनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफूँ सचेत रहेको बताउँदै विचार र एजेण्डा मिल्नेहरुको सहकार्य मात्रै भएको बताए । ‘भावना र एजेण्डा मिल्नेहरुका बीचमा सहकार्य गरेका छौं’, आचार्यले भने, ‘कसैले प्यानल बनायो भन्यो भने गलत हुन्छ ।’
गैर आवासीय नेपाली संघको साख र मर्यादालाई उच्च बनाउन चाहनेहरु एकजुट हुनुपर्ने अवस्था आएको आचार्यले बताए । आचार्यले तोकिएको समयमा नै एनआरएनएको निर्वाचन हुनेमा आशंका बढेको बताउँदै समयमा नै विवाद समाधान गरेर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए ।
‘सदस्यता तथा डेलिगेट्स चयनमा विवाद देखिएको बाहनामा निर्वाचन नै पर सार्ने खेल हुन थालेको छ’, आचार्यले भने, ‘समयमै विवाद सुल्झाएर तोकिएकै मितिमा चुनाव हुनुपर्छ ।’