मैले चिनेको र चाहेको गैर आवासीय नेपाली संघ

-


     योगेन्द्रमान श्रेष्ठ    
     श्रावण २१ गते २०७८


गैर आवासीय नेपाली संघ विभिन्न देशको राष्ट्रिय समन्वय समितिको गतिविधि, आर्थिक क्रियाकलाप, हरेक वर्ष गरिने अधिवेशन र समितिको पदाधिकारी गठन सम्बन्धको निर्वाचन प्रक्रियालाई नजिकमा रहेर मूल्यांकन गर्दा यो संस्था मणि हराएको नाग जस्तो देखिन्छ ।

नाग हिन्दुहरूका लागि पूजनीय भए जस्तै एनआरएनए संस्था प्रवासी आम नेपालीहरूको लागि पूजनीय हुनुपर्ने थियो । मणि सहितको नाग जस्तो भएको हुनुपर्ने थियो । तथापि, यस्तो भएको हामी पाँउदैनौ ।

सरसर्ती सतही रूपमा देख्दा पनि यो संस्थाको ठोस कार्यक्रम केहि पनि भए जस्तो लाग्दैन । जब कि कार्यक्रम के हो भन्ने निर्दिष्ट हुदैन भने कुन पदाधिकारीको जिम्मेवारी के भन्ने कसरी थाहा पाउनु । निर्वाचित पदाधिकारीहरू समेत एकोहोरो प्रकारको लाटोकोसेरो जस्तो देख्छु । हुन त यो संस्थाको परिकल्पना गर्दा यसको ओज नै निकै महत्व राखेर परिकल्पना गरिएको हो भन्ने म बुझ्छु । यसको संचालनार्थ पदाधिकारीको गरिमा नै महत्वको हुन्छ भन्ने मेरो बुझाई छ । यसको लागि त नीतिगत चुस्तदुरूस्त र योजनाबद्द हुनु आवश्यक हो तथापि यस्तो भैरहेको छैन ।

मैले बुझेको एनआरएनए त हरेक देश जहाँ हामी सक्रिय र नियमानुसार बसोबास गर्छौ त्यो मुलुकको लागि नेपालको अवैतनिक दुत हो भन्ने हो । विश्व श्रमबजारमा विभिन्न पेशा, व्यवसाय र सेवाको क्षेत्रमा हामी आबद्ध छौं । श्रमिकदेखि व्यवसायी र विशेषज्ञको हैसियत राख्छौ । यसको महत्व त मातृभूमिको लागि यसरी भएको हुनुपर्ने मेरो धारणा हो ।

  • विश्वमान चित्रमा नेपाल देश छ भनेर परिचय बनाउन सशक्त हुनुपर्ने हो NRNA
  • मुलुकको स्वाभिमान, स्वतन्त्रता र अखण्डताको पहरेदारी हुनुपर्ने हो NRNA
  • नेपालमा सुसंस्कृत राजनितिक वातावरणका लागि दवाव श्रृजना गर्नसक्ने संस्था बन्नु पर्ने हो NRNA
  • विश्व श्रमबजारमा सुरक्षित श्रम, शोषण मुक्त्त श्रमको लागि सधै १ कदम अगाडि भएको हुनुपर्ने हो NRNA
  • विदेशी भूमिमा जन्मिएका र विदेशमा हुर्के बढ्ने नेपाली बालबालिकालाई नेपाली भाषा साहित्य संस्कृति संस्कार चाडपर्व रितिरिवाजको शिक्षा दिने नेपाली पहिचानलाई अजीर्ण बनाउन योगदानरत भईरहनुपर्ने हो NRNA ले
  • नेपालको पर्यटन बजार र नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारिकरण गर्न सहायक हुनुपर्ने हो NRNA
  • नेपालको आर्थिक सम्बृद्धिका लागि सशक्त साझेदार बन्न सक्नुपर्ने हो NRNA
  • नेपालमा प्राकृतिक क्षति हुदाँ भवितव्य समस्या आइपर्दा राहतमुलुक रूपमा कल्याणकारी कामका सहयोगी हुनुपर्ने हो NRNA

एनआरएनएप्रति सामान्य बुझाई यस्तो थियो मेरो । वर्तमान एनआरएनलाई समिक्षात्मक मूल्यांकन गर्दा यस्तो पटक्कै भएको छैन भन्न पक्कै पनि मिल्दैन । तर, आशिक छ अपेक्षाकृत छैन । हालको परिप्रेक्ष्यमा यो संस्था त यसरी हुर्कदै गयो कि संगठन के हो ? अनुशासन के हो ? संस्था भित्र सुशानलाई कसरी बुझ्ने फिटिक्कै थाहा भएन । अहंकार, व्यक्तिवाद, आर्थिक अपचलन त संस्थाको नीतिगत एजेण्डा नै बनिसकेको छ ।
नेपाली राजनीतिक दलहरूको लागि विदेशी भूमिमा भातृ संस्था बनेको कांग्रेस एमाले र माओवादीहरूको कार्यकर्ता जस्तै आपसमा मुख छाडेर खुल्ला रूपमा गाली-गलौजमा उत्रने र आ-आफ्नै वेतालको डम्फु बजाउन उद्दत भएको पाँउछौ ।

मैले बुझेको एनआरएनए त हरेक देश जहाँ हामी सक्रिय र नियमानुसार बसोबास गर्छौ त्यो मुलुकको लागि नेपालको अवैतनिक दुत हो भन्ने हो । विश्व श्रमबजारमा विभिन्न पेशा, व्यवसाय र सेवाको क्षेत्रमा हामी आबद्ध छौं । श्रमिकदेखि व्यवसायी र विशेषज्ञको हैसियत राख्छौ । यसको महत्व त मातृभूमिको लागि यसरी भएको हुनुपर्ने मेरो धारणा हो ।

करिब १ साता अगाडि जुलाई २५ मा एनआरएनए जापानको अधिवेशन सम्पन्न भयो । उक्त अधिवेशन शब्दमा सम्पन्न भयो भनेर बुझ्दा अन्यथा नहोला । हाल सम्मका २०१५-२०२१ सम्म सबै पदाधिकारी करोडौं आर्थिक अपचलनमा जिम्मेवार भएको प्रतिवेदन सार्वजनिक भयो । २०१९-२०२१ को अध्यक्षलाई कार्यकाल पूरा नगर्न भनियो । उनले व्यक्तिगत रूपमा व्यक्तिको आर्थिक हिनाबिना समेत गरि मोटो रकमको आर्थिक लाभ लिएको पुष्टि गर्दै कारवाही गरियो र मौजुदा समिति समेत आर्थिक हिनामिनाको जिम्मेवार पुष्टि गरिएको छ । अधिवेशन त सम्पन्न भयो न कुनै प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पास गरियो न त आगामी कार्यक्रमको घोषणा भयो । भयो त भाषणबाजी, पितृ श्राद्ध गर्दा बिरालो बाध्ने उक्ति जस्तो कर्मकाण्डीमा सिमित बन्यो ।

निर्वाचन भयो तर उद्वेक भयो !
Online Voting System अनुसार जापानमा भएको निर्वाचनमा नेपाल, भारत र अन्य मुलुकबाट र जापान मै एकै सिस्टमको प्रयोगबाट हजारौं मतदान भयो । आधिकारिक मताधिकारीले मताधिकार प्रयोग गर्न पाएनन् तर तिनका नामबाट फर्जी मत खस्यो । निर्वाचन समितिले निर्वाचन परिणामको अनौपचारिक जानकारी दिइयो । विजयी भएको नभएको घोषणा अनिर्णीत बन्यो । अहिले एनआरएनए जापानको पदाधिकारी को हो भन्ने नै अन्यौल ग्रस्त अवस्थामा छ । अन्तरिम कालको लागि अध्यक्ष मण्डल नबाइएको छ । भोलि निर्वाचितको आधिकारिकताको घोषणा भईसकेपछि पनि त्यस समितिलाई कार्य गर्न र एनआरएनएको अभियानलाई जिवन्तता दिन कसरी सक्ला त्यो चुनौतीको विषय भनेको छ ।

एनआरएनए जापान संस्थागत बन्न नसक्नुको प्रमुख कारण त पदाधिकारी उम्मेदवार बन्न नै २-५ लाख आवेदन शुल्क बुझाउनु पर्ने । उनीहरूले निर्वाचन जित्नलाई के गरे होलान् बुझ्नलाई धेरै घोतलिन जरूरी नै छैन र यिनले खर्च असुली गर्न भोलिका दिनमा के गर्लान् ? कस्तो क्षमता र दक्षता राख्नेले जिते र यिनले कसरी संस्थालाई हाक्लान् सोचनीय विषय छ ।

धेरै देशमा एनआरएनए अधिवेशन त रणसंग्राम बन्यो । गाईजात्रा पर्व जस्तो रमिते बन्यो । चटकेले चटक देखाए जस्तो । एनआरएनए जापान पनि रत्तिभर अछुतो रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?