बागलुङ-सारङ्गीवादक कमलकुमार विक दुई महिनापछि बुधबार ‘डिजिटल काठमाण्डू’ रेकर्डिङ स्टुडियो छिर्नुभयो । निषेधाज्ञाका पट्यारलाग्दा दिन घरमै कटाएर स्टुडियो फर्कनुभएका उहाँले त्यसदिन तीजको गीतमा धुन भर्नुभयो ।
धेरैपछि पुरानै दैनिकी पछ्याउँदा उत्साह मिलेको र स्थिति थप सहज हुनेमा आशा पलाएको विकले सुनाउनुभयो । “निषेधाज्ञा खुकुलो भएसँगै रेकर्डिङको काममा व्यस्तता बढेको छ”, उहाँले भन्नुभयो, “बाद्यवादनको काम एक्ला–एक्लै गरिने भएकाले जोखिम पनि कम छ ।”
यातायात र हिँडडुलमा रोक नलागे स्टुडियोको काममा कुनै बाधा नहुने विकको भनाइ छ । उहाँ सारङ्गी बनाउने पेसामा पनि आबद्ध हुनुहुन्छ । निषेधाज्ञाको अवधिमा दुई दर्जनबढी सारङ्गी तयार भएको विकले बताउनुभयो । लोकबाजा सारङ्गीको संरक्षण र प्रसारमा उहाँको परिवार नै समर्पित छ ।
गायक/कलाकार दुर्गेश थापालाई पनि अहिले रेकर्डिङ र अभिनयमा भ्याइनभ्याइ छ । लोकदोहोरी गीत ‘सालको पात’ को भिडियो छायाँकन भर्खर सकिएको उहाँले बताउनुभयो । उक्त गीतको भिडियोमा थापा र गीता ढुङ्गानाको अभिनय छ । “निषेधाज्ञा सहज भएपछि मेरा आफ्नै तीन वटा तीज गीतमा पनि काम भइरहेको छ”, थापाले भन्नुभयो ।
दुई वर्षअघि ‘बीच–बीचमा’ बोलको तीज गीतबाट थापाले चर्चा कमाउनुभएको थियो । यसपालि पनि ‘बीच–बीचमा–२’ ल्याउने तयारीमा उहाँ हुनुहुन्छ । सो गीतमा थापासँगै गायिका समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वर छ । अभिनयका लागि नायिका करिष्मा मानन्धर र दीपाश्री निरौलासँग कुराकानी चलिरहेको थापाले बताउनुभयो ।
थापाले आफ्नो एकल गायनमा तीज गीत ‘बीच–बीचमा, छेउछेउमा, कोठा–कोठामा’ र ‘ख्याँस्स पुतली’ पनि सार्वजनिक गर्दै हुनुहुन्छ । “अहिले रेकर्डिङको काम भइरहेको छ, छिट्टै गीतको भिडियो छायाँकन शुरु हुन्छ”, थापाले भन्नुभयो । निषेधाज्ञा खुकुलो भएर यातायातमा जोर/विजोर लागू भएपछि काममा आउजाउ सहज भएको उहाँले उल्लेख गर्नुभयो ।
कलाकारसँगै प्राविधिक पनि आफ्नो रोजीरोटीको काममा फर्कन पाएको थापाले सुनाउनुभयो । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दुरीदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कलाकार चनाखो बन्ने गरेको उहाँको भनाइ छ ।
विगत डेढ वर्षदेखि कोरोनाको मारमा परेका कलाकार दैनिकी चाँडै पूर्ववत् स्थितिमा फर्कियोस् भन्ने चाहन्छन् । महामारीको पहिलो लहरताका पनि झण्डै वर्षदिन कलाकार घरमै थुनिए । गत फागुनदेखि फाटफुट्ट मेला/महोत्सव हुन थालेपछि कलाकारलाई राहत मिलेको थियो । गायक/गायिकाका लागि मञ्चीय कार्यक्रम नै कमाइको राम्रो स्रोत हो ।
बिडम्वना भन्नु पर्छ कलाकारले मञ्चमा लय समात्न थालेको एकाध महिनामै फेरि कोरोना महामारीको दोस्रो लहरले देश आहातमा पर्यो । वैशाख दोस्रो सातादेखि निषेधाज्ञा शुरु भयो । मानिस घरमै सीमित हुने अवस्था बन्यो । कोरोना सङ्क्रमण केही मत्थर भएसँगै असार दोस्रो सातादेखि राजधानी काठमाडौँसहित देशभर निषेधाज्ञा खुकुलियो ।
जसका कारण अहिले जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख छ । कला जगतपनि चलायमान भइरहेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव एवं गायक वसन्त थापाले कोरोनाअघिकोझैँ माहोल नभएपनि कलाकार आफ्नो व्यावसायिक धर्ममा जेनतेन लागिरहेको बताउनुभयो ।
“बाहिरी परिस्थितिले पनि सिर्जनामा असर गर्दोरहेछ, हामीले झेलिरहेको अफ्टेरो, पीडा, बेखुसीले होला सायद उत्कृष्ट रचना आउन सकेको छैन”, उहाँले भन्नुभयो । राम्रो सिर्जनाका लागि निष्फिक्री र स्वतन्त्र वातावरण चाहिने थापाले उल्लेख गर्नुभयो ।
थापाको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात’ छिट्टै सार्वजनिक हुँदैछ । काठमाडौँस्थित रागा स्टुडियोका सञ्चालक एवं सङ्गीतकार आशिष अविरल पनि यतिबेला रेकर्डिङ र एरेन्जको काममा व्यस्त हुनुहुन्छ । “निषेधाज्ञा सहज भएपछि पहिले थाती रहेका काम पनि अगाडि बढेका छन्, स्टुडियो व्यस्तै छ”, उहाँले भन्नुभयो ।
कोरोनाका कारण विदेशमा हुने नेपाली कलाकारको साङ्गीतिक यात्रामा पनि ठूलो अवरोध खडा भएको छ । व्यावसायिक हिसाबले सोच्दा एऊटा कलाकारका लागि विदेशको कार्यक्रमले धेरै महत्व राख्छ । अहिले विदेशमा न कार्यत्रम भएका छन्, न कलाकारलाई प्रवेशाज्ञाको अनुमति नै छ ।
पछिल्लो समय युट्युबलगायत डिजिटल माध्यमले भने कलाकारलाई थोरै भएपनि व्यावसायिक आड दिएका छन् । क्यासेट, सिडीको जमाना गएपछि गीत/सङ्गीत युट्युबमा केन्द्रित छ । भ्यूजका आधारमा सर्जक/कलाकारले युट्युबबाट पैसा आर्जन गर्छन् ।