बन्धुहरू बिच एकता, आपसी भाइचारा बढाउन कुल पूजा

-


     थम्मन थापा    
     मंसिर १८ गते २०८०


बागलुङ। सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म, बागलुङले यस वर्षको कुल पूजा आगामी पौष ४ गते गर्ने भएको छ ।

वि.सं २०७७ सालमा विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण सामान्य रूपमा गरिएको कुलपूजा यस वर्ष भनें विगतमा जस्तै भव्य रुपमा सम्पन्न गर्ने समाजले जनाएको छ ।
समाजले कुलपूजा तयारीको निमित्त अहिले आवश्यक तयारी गरिरहेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस वर्ष मंसिर २५ गते विस्तारित बैठक, २६ गते गाउँ टोल, चोक तथा सार्वजनिक स्थानमा सरसफाई, २८ गते सामुहिक तोरी उठाउने, बन्धु भेला तथा अन्तरकृया, पौष १ गते तोरी पेल्ने, पौष २ गते कलश स्थापना दीप प्रज्वलन, पौष ३ गते गहरा बार्ने बन्धु मिलन अनि सरसफाई र पौष ४ गते विशेष समारोहका अतिथि सत्कार सहित कुलपूजा कार्यक्रम गर्ने कार्य तालिका सार्वजनिक गरिएको समाजका अध्यक्ष थापाले बताउनु भयो ।

गलकोट मल्ममा देशका विभिन्न ठाउँहरु ताराखोला, बडिगाड, ढोरपाटन, बागलुङ, पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, भारतको देहरादुन, दिल्ली सँगै विदेशसम्म फैलिएका बगाले थापाहरु कुलपूजा गर्न आउने गर्दछन । कुल पूजाले बन्धुहरू बिच एकता, आपसी भाइचारा समेत बढाउने विश्वास लिईन्छ । कुल पूजाको दिन बिहान निशान घरदेखि नौमती बाजा र पञ्चकन्याको साथमा कुल मन्दिरसम्म कलश यात्रा, झण्डोत्तोलन, बलि, पूजा अर्चना, प्रसादी वितरण सँगै स्वाभिमान विशेषाङ्क विमोचन गर्ने कार्यक्रम तय भएको समाजका सचिव टोप बहादुर थापाले जानकारी दिनुभयो ।
बगाले थापाको ईतिहास हेर्दा वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म म्याग्दीको ताकम, ज्यामरुकोट र पुलासम्म थापा राज्य सञ्चालन भएको देखिन्छ । वि. सं. १५४५ मा मल्ल राजा दिम्ब बम मल्लले आक्रमण गरेपछि ताकमबाट बगाले थापाहरु गलकोट, स्याङ्जा, गोरखा, काठमाण्डौ लगाएतका ठाउँहरुमा गएको समाजका संरक्षक एवं प्रध्यापक डा. दिनबहादुर थापाले जानकारी दिनुभयो ।
समाजले प्रत्येक कुल पूजामा बगाले थापाको ईतिहास, विभिन्न लेख, रचना, सामाग्री सहितको स्वाभिमान बुलेटिन पुस्तक समेत प्रकाशित गर्दै आइरहेको छ । त्यस्तै विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने, शिक्षामा उत्कृष्ट अंक ल्याउने बगाले थापा बन्धुहरुलाई सम्मान तथा पुरस्कृत गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?