जापानमा भूकम्पका कारण जमिन कसरी सर्‍यो

-


     जनहित न्युज    
     पौष १८ गते २०८०


जापानमा गएको म्याग्निट्यूड ७.५ को भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसको कारणले प्रभावित क्षेत्रको जमिन कति सर्‍यो भन्नेमा प्रतिबिम्बित भएको छ। 

सोमवारको भूकम्पछि केही ठाउँमा जमिन चार मिटर उठेको छ र छेउछाउमा एक मिटर सरेको छ। भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ।

देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित ‘जीपीएस’ केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ। भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन वा विस्तार भयो देखाउन सक्छन्। 

यो प्रणालीले सोमवारको भूकम्पपछि जमिन पश्चिमतिर १३० सेन्टिमिटरसम्म सरेको देखाएको छ।

अन्तरिक्षबाट निगरानी

वैज्ञानिकहरूले अन्तरिक्षबाट पनि जापानको निगरानी गरिरहेका छन्। त्यसका लागि भूकम्प जानुअघि र गइसकेपछि भूउपग्रहबाट खिचिएका तस्बिरहरूको तुलना गरिँदै छ। 

भूउपग्रहबाट खिचिएको तस्बिर

एलोस-२ भूउपग्रहले जापानमा गएको भूकम्पका कारण पृथ्वीको सतह माथि उठेकाले आफू र पृथ्वीको सतहबीचको दूरी घटेको जनाएको छ। नोतो प्रायःद्वीपको पश्चिमी भेगमा जमिन सर्वाधिक सरेको छ। 

तटीय क्षेत्रबाट पर समुद्रको भुइँ सर्दा झन्डै ८० मिटर अग्ला सुनामीका छालहरू उत्पन्न भएका थिए।

अरू भूकम्पसँग तुलना

भूकम्पका कारण मानिसको मृत्यु हुनु दुःखद कुरा हो। अहिले पनि भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारको प्रयास भइरहेको छ। तर जापानमा यो भूकम्पका कारण ज्यान जानेहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम हो। 

मृतकको सङ्ख्या एक सयजति मात्र हुने अनुमान गरिएको छ।

जापानको भूकम्पलाई गत वर्ष टर्कीमा गएको म्याग्निट्यूड ७.८ को भूकम्पसँग तुलना गर्न सकिन्छ। निष्काशित ऊर्जाका दृष्टिकोणबाट हेर्दा दुवै घटना समान थिए। 

तर टर्की र सिरियामा गरी मृतकको सङ्ख्या ५०,००० नाघ्यो। हेइटीमा सन् २०१० मा भएको म्याग्निट्यूड ७ को भूकम्पमा एक लाख जनाभन्दा बढीको ज्यान गएको थियो। यति ठूलो भिन्नता देखिनुको एउटै कारण छ – तयारी। 

जापानमा किन भूकम्प गइरहन्छ

जापान चारवटा मुख्य टेक्टोनिक प्लेटहरूको मिलनबिन्दुमा अवस्थित छ। जापान पृथ्वीमा अत्यधिक भूकम्पीय गतिविधि हुने क्षेत्रमा पर्छ। 

पृथ्वीभरि जाने म्याग्निट्यूड ६ वा बढीका भूकम्पमध्ये २० प्रतिशतको केन्द्रबिन्दु जापानमा पर्छ। साइस्मोमिटरहरूले औसतमा प्रत्येक पाँच मिनेटमा एउटा भूकम्प पत्ता लगाउँछन्।

विश्वभरि रहेका मुख्य टेक्टोनिक प्लेटहरू

जापानले भूकम्पबाट हुने क्षतिबाट जोगिने खालका भौतिक पूर्वाधारमा ठूलो लगानी गरेको छ। भवन निर्माण संहिता कडाइपूर्वक लागु गरिएको छ। अनि भूकम्प गएपछि के गर्ने भन्ने तालिम सर्वसाधारणलाई दिइएको छ। 

जापानमा विद्यमान भूकम्पको पूर्वचेतावनी प्रणालीलाई विश्वमा निकै उन्नत मानिन्छ। वैज्ञानिकहरू भूकम्प कहिले जान्छ र त्यो कत्रो हुन्छ भन्ने ठोकुवा गर्न सक्दैनन्। तर भूकम्प सुरु भएपछि उपकरणहरूले टीभी, रेडिओ र मोबाइल फोनको सञ्जालमा सूचना पठाउँछन्। 

केन्द्रबिन्दुबाट टाढा रहेका मानिसहरूले त्यस्तो चेतावनी भूकम्पले नराम्ररी हल्लाउनुभन्दा १० देखि २० सेकेन्डअघि प्राप्त गर्छन्। तपाईँलाई त्यति समय अपर्याप्त लाग्न सक्छ। तर स्थानीय दमकल स्टेशनमा ढोका खोल्न र तीव्र गतिमा गुडिरहेका रेलहरूलाई ब्रेक लगाउन त्यो पर्याप्त समय हो। 

अनि त्यति बेरमा मानिसहरू सुरक्षित तरिकाले बस्न पनि सक्छन्।

जोनाथन एमस बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?