
आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेष्ठ मध्यपूर्वको देश दौड़ाहाबाट उत्साहित भएको बताएका छन ।
आफ्नो गृह देश जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्दा मिलेको सहयोग र सत्भावलाई मध्यपूर्वका एनआरएनए अभियन्ता ग़ैर आवासीय नेपाली र त्यहाको एनसीसीले गरेको माया र दिलाएको बिश्वासले आफ्नो जित सुनिश्चित रहेको अध्यक्षका प्रत्यासी श्रेष्ठले बताए ।

“एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्ष महासचिब लगायतका उम्मेदवारसहित मैले गरेको मध्यपूर्वको भेटघाट र अन्तरक्रियाले मेरो नेतृत्वलाई सहज रुपमा स्विकार गरि सहयोग गर्ने प्रतिबद्धता पाएँ ।”प्रत्यासी श्रेष्ठले भने- मैले विगतमा एनआरएनएमा गरेको सुधार र अहिले प्रस्तुत गरेको योजनालाई मध्यपूर्वले सहज रूपमा ग्रहण गरेको पाउदा म उत्साहित छु ।
मध्यपूर्वको साक्षात्कारका अवसरमा एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन मैले पेश गरेको रणनीतिक योजनालाई कार्यान्वयन गर्न साथ दिने त्यस क्षेत्रका एनआरएनए अभियन्ता डेलिगेट्स र त्यहाको नेतृत्वले प्रतिबद्धता पनि व्यक्त गरेको उनले बताए ।

विभिन्न देशका नेपालीहरुसंग सुझाव लिनका लागि दौडाहामा निस्किएका अध्यक्षका प्रत्यासी श्रेष्ठले भने,‘देश, समाज र गैर आवासीय नेपालीका लागि क्याटगरी छुट्याएर काम गर्नुपर्ने अवस्थामा छौं । यतिबेला अत्यन्तै ठूलो जिम्मेवारी हाम्रो काँधमा छ । भिन्न देशका भिन्न योजनाहरु लिएर यहाँ उपस्थित भएको छु । सबैको सदभाव, माया र शुभेच्छा पाउनेमा विश्वस्त छु ।’ विशेषत: नेपालको समृद्धिमा काम गर्नुपर्ने भएकाले सरकारका विभिन्न निकाय र अंगहरुसँग मिलेर काम गर्न आफु प्रतिवद्ध रहेको उनले बताए ।
प्रतिवद्धता पत्रमा उल्लेख भएका योजनाहरु कार्यान्वयनमा ल्याउन एक्सन प्लान र दुई वर्षे रणनीति बनाएर काम गर्न इच्छुक रहेको उनले बताए । मध्यपूर्वको भेटघाटपछि मलेसिया, थाईल्यान्ड, क्याम्वोडिया र कोरियामा जाने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘नेपालमा लगानी गर्छु भनेर मात्र हुँदैन । लगानी गर्न मेकानिजम आवश्यक छ । त्यो मेकानिजम मैले तयार गरेको छु । सरकार र प्रवासी नेपालीहरुको मन जित्नेगरी काम गरेर देखाउँछु,’ उनले स्पष्ट पारे ।
खाडी मुलुकमा भोगिरहेका नेपालीहरुको समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै हालका उपाध्यक्ष समेत रहेका श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन ।
‘श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउनुपर्नेछ । साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्न म कटिवद्ध छु,’ उनले भने ।
अध्यक्ष प्रत्यासी श्रेष्ठले युवा तथा महिलालाई संघमा प्रमुख भूमिका दिनुका साथै नेपाल बाहिर हुर्की रहेको दोश्रो पुस्तालाई नेपालसंग जोड्नआफुले विभिन्न कार्यक्रम हरु ल्याउने पनि जनाएका छन् ।

आर्थिक अनुशासन बिना कुनै पनि संस्था सञ्चालन हुन सक्दैन। संस्थामा आर्थिक क्रियाकलाप व्यवस्थित हुनैपर्छ। यदि त्यसो भएन भने अराजकता निम्तन्छ र आर्थिक अनियमितता हुने खतरा रहन्छ, उनको भनाई छ ।
पछिल्लो दुई वर्षमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आर्थिक रूपमा पारदर्शी बनाउने प्रयास भएको छ। आर्थिक अनुशासन तथा पारदर्शिताको सुरूआत भएसँगै पछिल्लो समय एनआरएनएमा आम मानिसको विश्वास बढ्दै गएको छ।

अहिले आमूल परिवर्तन गर्दै संस्थालाई नाफामा लगिएको उनले बताए । यसका कतिपय अनावश्यक खर्च रोकिएको छ भने प्रशासनिक खर्चमा पनि कटौती भएको छ। हाल संस्थाले सामाजिक क्षेत्रमा खर्च गरेको छ। खर्च र आम्दानीको विवरण पारदर्शी रूपमा राख्ने प्रणालीको बिकास आफूले गरेकोले हाल सहज भएको बताए ।
अहिले एनआरएनएले हरेक तीन/तीन महिनामा वित्तिय विवरण प्रकाशन गर्ने गरेको छ । यसले संस्थालाई पारदर्शी हुन मद्दत पुर्याएको छ।
