एलिभेटर !

-


     डा. नरेश भण्डारी     
     असार १६ गते २०८०


अफिस टाईमको ट्राफिक छल्न छिटो निस्कन्छु घरबाट। पार्किङ्ग लटको तेस्रो तलामा गाडी पार्क गरेर हतार हतार गर्दै अफिस भवन भित्र छिर्छु र एलिभेटर भएनेर पुग्छु। त्यहाँ एकजना अलि ठूलो जिउ भएको मान्छे एलिभेटरको बटन भए नजिकै उभिएको थियो। बटन थिच्न हात बढाउँदै गर्दा उसले रोक्दै भन्छ – “मैले थिचिसकें।”
“ए, हो!” भन्दै म पछि हट्छु र एकछिन पर्खन्छु।
एलिभेटर आउँदैन।
बटन थिचेपछी त्यसमा बत्ती बल्नु पर्ने, त्यो बलेको थिएन।
“अनि बत्ती बलेको छैन त?” भन्दै म फेरि बटन थिच्ने प्रयास गर्न खोज्दै भन्छु।
“ए, त्यो बटन त बिग्रेको छ रे! मेन्टेनेन्स ले मलाई अघि भनेको।” भन्दै उसले मलाई फेरि रोक्छ।

उसको व्यबहार अलि अनौठो लागिरहेको थियो। म उसलाई चिन्दिनथें। यो भन्दा पहिले उसलाई कतै देखेको थिईन। मलाई ढिलो भैसकेको थियो। अलिअलि रिस पनि उठिरहेको थियो तर गर्न सक्ने केही थिएन। उ अजंगको थियो। फेरि त्यहाँ अरु कोहि पनि थिएन। तेह्रौं तलामा मेरो अफिस कोठा, त्यति माथी सिंढी चढेर जानुपनि सहज थिएन घुँडाको दुखाईले गर्दा।
“राम्रो संग थिचिएन कि? फेरि एक पटक थिचौं न त। के नै बिग्रन्छ र?” अलिबेर सम्म एलिभेटर नआएपछि मैले फेरि बटन थिच्ने प्रयास गर्दै भन्छु।
“के भन्न खोजेको? एउटा माखो आएर बस्यो भनेपनी थिचिने खालको जाबो बटन थिच्न पनि जान्दिन होला त मैले!” उ अलि झर्किंदै मलाई फेरि रोक्छ।

त्यतिन्जेल सम्म मेरो रिसको पारो चढिसकेको हुन्छ। म बटन थिच्न हात अगाडि बढाउँछु। उ रोक्न खोज्छ। जे सुकै होस भनेर उसलाई धकेल्दै बटन थिच्छु। उ पर भित्तामा पुग्छ। अचम्म मान्छु, त्यति ठूलो मान्छे मैले धकेल्दा सजिलै धकेलिन्छ। बटन थिचिएपछी त्यसमा बत्ती बल्छ। एकै छिनमा एलिभेटर पनि आउँछ। एलिभेटर आएपछी एक पटक “टिङ” गर्न पर्ने तर लगातार टिङ टिङ टिङ टिङ गरिरहन्छ। लगातारको टिङ टिङ टिङले मेरो आँखा खुल्छ। त्यो टिङ टिङ त बिहान ६ बजेको अलार्म रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?