अविरल वर्षाले गलकोटमा वितन्डा

-


     घनश्याम गौतम     
     जेठ २७ गते २०७९


गलकोट नगरपालिका वडा नं १ काफलठुटामा रहेको अम्मर बहादुर खड्काको घर अगाडि २ वटा मेवाको रुख र दायाँतर्फ गोठ थियो । गोठमा ३ भैसी ३ बाख्रा थिए । गोठदेखि तल देवालय प्राथमिक विद्यालय छ ।

साँझ करिब ६ बजेबाट वर्षा भएपछि घरमै बस्नुभएका खड्काले करिब ८ बजे खाना खानुभयो । प्राकृतिक प्रकोपको जोखिमबारे चनाखो बन्नुभएका खड्का परिवारसँग घरको पिढिमा रहेको खाटमा बसेर ठूलो पानीले पहिरो जाने विपद् निम्तिने कुरा गर्दै गर्दा एक्कासी चट्याङ पर्यो । पहिलो चट्याङले घर अगाडिको मेवाको रुख ढलेको खड्का बताउनुहुन्छ । 

अबिरल वर्षासँगै चट्याङ पर्दा गोठमा जाने कोसिस गर्नुभएका खड्कालाई पटक पटक उहाँको श्रीमतिले रोक्नुभयो । करिब १० बजेको समयमा पुन २ पटक चट्याङ पर्यो चट्याङ गोठमा लागेपछि आँगनसँगै गोठ पूर्ण रुपमा भत्कियो । गोठ भत्किदा खड्काको गोठमा रहेका ३ भैसी र १ बाख्रा पुरिएर मरे खड्काले गुहार मागेपछि २ बाख्रा स्थानीयको सहयोगमा उद्धार गर्न सफल भएको खड्काले बताउनुहुन्छ ।

त्यस्तै गलकोट नगरपालिका वडा नं ३ स्याहाला निवासी सेन्जु खत्रीको घर तथा गोठ एक्कासी पहिरोले बगाउदा ४४ वर्षिय गायत्रीदेवी खत्री, उहाँकी छोरी १८ वर्षिय विपना खत्री घाइते हुनुभयो । पहिरोले घर नै पुरिएका खत्रीलाई स्थानियको सक्रियतामा उद्धार गरि उपचारका लागि इमरजेन्सी पोलिक्लिनीक प्रालि हटियामा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष फम बहादुर खत्रीको बताए। 

आमा छोरीलाई स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार गर्न सफल भइयो अध्यक्ष खत्रीले भन्नुभयो तर गोठमा रहेका १ भैसी र १ बाख्रालाई भने बचाउन सकिएन ।
गलकोट नगरपालिकामा गत मंगलबार र बुधबार परेको अविरल वर्षाका कारण पुष्पलाल मध्यपहाडी लोकमार्ग करिब ८ घण्टा अवरुद्ध बन्यो । बिहिबार करिब दिउसो २ बजेबाट लोकमार्ग सूचारु भएको प्रहरी नायव निरिक्षक विष्णुप्रसाद शर्माले बताउनुभयो ।

गलकोट नगरपालिका वडा नं १ मा ३ वटा घर बाढि पहिरोका कारण विस्थापित तथा करिव ४० घर उच्च जोखिममा रहेकोे वडा अध्यक्ष लाल बहादुर रानाले बताउनुभयो । वडा नं २ मा ४ घर विस्थापित र महेन्द्र माध्यमिक विद्यालय र नरेठाँटी बजारमा रहेका ८ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।  गलकोट नगरपालिका वडा नं ३ मा २ घर विस्थापित बनेका छन् । भने हटिया बजारमा समेत बाढी पहिरोको जोखिममा परेको वडा अध्यक्ष खत्रीले बताउनुभयो । 

त्यस्तै गलकोट नगरपालिका वडा नं ४ मा उमाकान्ता सुुवेदी, श्याम सुनार, राजु सुनार, भुमिराज सुवेदी, गोपाल सुवेदी, मान बहादुर सुनार, कमानसिँह सार्की, मदन नेपाली, सेर बहादुर परियार, खिम बहादुर परियार, हिरामान न्यौपानेको घर जोखिममा परेकोले विस्थापित भएकोे वडा अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिनुभयो ।

वडा नं ५ मा याम बहादुर बस्नेतको घर, भगवती मल्लको घर, इलाका हुलाक कार्यालय सहित ११ घर उच्च जोखिममा रहेको वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभयो । हमालका अनुसार २ वटा पुल बाढिका कारण उच्च जोखिममा रहेका छन् । 

वडा नं ६ मा नारायण नेपाली, विरु नेपाली, टिका बहादुर घर्तिको घर विस्थापित र पार्वती माध्यमिक विद्यालय, नवज्योति दुर्गा भवानी माध्यमिक विद्यालय, गलकोट नगरपालिका वडा नं ६ को वडा कार्यालय र ६ घर सहित १ मन्दिर समेत पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष रामप्रसाद कंडेलले जानकारी दिनुभयो । 
गलकोट नगरपालिका वडा नं ७ मा १ घर र १ गोठ उच्च जोखिममा रहेको वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो । 

बाढि र पहिरोका कारण गलकोट नगरपालिकाका ग्रामिण सडकहरु नरेठाँटी दुदिलाभाटी, थलिङ भैसे, नरेठाँटी जस्पुर पैयुडाडाँ, नरेठाँटी तोरीखोला, डाडाँखेत चमुवा नुवाकोट, हटिया स्याला कोटमैदान, हरिचौर कौलेनी टेउवा, मजुवा मसारा ठुलाथर भुजुङगे कायश नेपाने मजुवा, जामुनडाँडा पैयुडाँडा ठाँन, ढलेपिपल गुयली सेतिबेसी लगायतका ग्रामिण सडकहरु  पुर्ण रुपमा अवरुद्ध भएका छन् । गलकोट नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्मको सडक सूचारु गर्ने काम भैरहेको गलकोट नगरपालिकाले जनाएको छ । 

गलकोट नगरपालिका वडा नं १ देखि ७ सम्मका विभिन्न खानेपानीका मुहानहरुमा बाढि पसेको छ । ठाँउठाँउमा खानेपानीको पाइप बगाएको स्थानियले बताएका छन् ।  वर्षाका कारण केन्द्रिय प्रसारण लाइन विद्युत्त अवरुद्ध बनेको छ ।  केन्द्रिय प्रसारण लाइन अन्तरर्गत गलकोट नगरपालिका वडा नं १ को काफठुटामा २ वटा पोल, वडा नं ६ मा १ वटा पोल बगालएको छ । भने गलकोट नगरपालिका वडा नं ३ स्यालामा १ वटा पोल ढलेको छ ।

गलकोट नगरपालिका वडा नं २ को चिनामाली जस्पुर क्षेत्रमा ३ वटा रुख प्रसारण लाइनमा परेको नोलाइट कार्यालय हटियाका प्रतिनिधि प्राविधिक नगेन्द्र पुनले जानकारी दिनुभयो । गलकोट क्षेत्र बुधबार रातिदेखि विद्युत्त विहिन बनेको छ । पुनका अनुसार विद्युत्त प्रसारण लाइन मर्मत कार्य भईरहेकोले अति प्रभावित क्षेत्रमा लाइन काटेर अन्य स्थानमा विद्युत्त आपुर्ति गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?