

काठमाडौं- नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आगामी २०८३ मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
‘नेपाल–जापान फेस्टिभल २०२६: संस्कृतिमार्फत एकता’ नाम दिइएको उक्त महोत्सव नेपाल–जापान फेस्टिभल कार्यकारी समितिको आयोजनामा सञ्चालन हुने भएको हो।
आयोजक समितिका अनुसार महोत्सवको मुख्य उद्देश्य दुई देशबीचको ऐतिहासिक मित्रता, आपसी सद्भाव, सांस्कृति आदानप्रदान तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको छ।
महोत्सवमा नेपाल र जापानका कलाकारहरूको सांगीतिक प्रस्तुति, परम्परागत सांस्कृतिक कार्यक्रम तथा दुवै देशको पर्यटन र व्यापार प्रवर्द्धनसँग सम्बन्धित विभिन्न गतिविधि समावेश गरिनेछन्।
महोत्सवको मुख्य आकर्षण जापानको प्रसिद्ध सांगीतिक समूह गोदाइगो (Godiego) रहनेछ। करिब ४६ वर्षअघि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएको उक्त समूह चार दशकभन्दा लामो समयपछि पुनः नेपाल फर्किन लागेको हो।
आयोजकहरूले गोदाइगोको पुनरागमनलाई नेपाल र जापानबीचको लामो सांस्कृतिक सम्बन्धको प्रतीकात्मक अवसरका रूपमा लिएका छन्। महोत्सवमा नेपाली कलाकारहरूले समेत विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।
यसैबीच, आयोजक समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि महोत्सवबाट आवश्यक खर्च कटाएर बाँकी रहेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने घोषणा गरेको छ।
समितिले महोत्सवमार्फत नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको संस्कृति र पहिचानलाई थप परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाल र जापानबीच वि.सं. २०१३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सात दशक लामो यस सम्बन्धमा दुई देशले विकास सहयोग, शिक्षा, पर्यटन, व्यापार तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य गर्दै आएका छन्।
आगामी महोत्सवले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै जनस्तरको सांस्कृतिक निकटता विस्तार गर्ने अपेक्षा गरिएको छ।



