दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, १५ हजार दर्शकको सहभागिता रहने अपेक्षा

-


     जनहित न्युज    
     चैत्र २३ गते २०८२


टोकियो, जापान – टोकियोमा आयोजना हुन लागेको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा आगामी अप्रिल ११ र १२ तारिख हुने यस महोत्सवको सम्पूर्ण व्यवस्थापकीय कार्यहरू पूरा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

महोत्सवका संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार यस पटकको फेस्टिवलमा नेपाली र जापानी संस्कृतिलाई जोड्ने विशेष प्रयास गरिएको छ। कार्यक्रममा दाइतो विश्वविद्यालयको ईताबासी क्याम्पसले विशेष प्रस्तुति दिनेछ भने नेपाली राजदूतावास जापान र स्थानीय ताकाशिमादाइरा प्रहरीका जानकारीमूलक स्टलहरूले महोत्सवको गरिमा बढाउनेछन्। कुल २३ वटा स्टल रहने यस महोत्सवमा १२ वटा नेपाली र ११ वटा जापानी व्यावसायिक स्टलहरू रहनेछन्, जसले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

दुई दिने यस भव्य महोत्सवमा करिब १५ हजार दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ। महोत्सव अवधिभर करिब ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको संयोजक कार्कीले बताउनुभयो। महोत्सवमा म्याग्देली कलाकार रवि कार्की र चर्चित गायक सूर्य खड्का लगायतका स्थानीय एवं राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ, जसले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ।

आइतबार सम्पन्न पत्रकार सम्मेलन मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता र महासचिव सुरेश पुनको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष एवं मोना जापानका सल्लाहकार ददिवल खड्का, सल्लाहकार तिलक मल्ल र कलाकार रवि कार्की लगायतले फेस्टिवलको सफलताका लागि शुभकामना मन्तव्य राख्दै प्रवासमा नेपाली पहिचान जोगाउन यस्ता कार्यक्रमको ठूलो महत्व रहने चर्चा गर्नुभयो। जापानी र नेपाली समुदायबीचको आपसी सद्भाव बढाउन यो महोत्सव कोशेढुङ्गा सावित हुने विश्वास आयोजकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?