
जापानमा सन् २०२५ मा कुल आत्महत्या घटे पनि विद्यार्थीको सङ्ख्या ५३२ पुगेर कीर्तिमान कायम गरेको रिपोर्ट स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेपछि गम्भीर चिन्ता थपिएको छ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनवरी २९ मा सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ मा देशभर आत्महत्या गर्नेहरूको कुल सङ्ख्या घटेर १९,०९७ पुगेको छ, जुन सन् १९७८ पछिकै सबैभन्दा न्यून हो। समग्र सङ्ख्या पहिलोपटक २० हजार मुनि ओर्लिए पनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीको आत्महत्याको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा बढेर ५३२ पुगेको छ। यो सङ्ख्या सन् १९८० यताकै उच्च हो। तथ्याङ्कअनुसार यसमा १० जना प्राथमिक विद्यालयका, १७० जना निम्न माध्यमिक र ३५२ जना माध्यमिक विद्यालयका विद्यार्थी रहेका छन्।
कोरोना महामारी सुरु भएको सन् २०२० देखि विद्यार्थीहरूमा आत्महत्याको दर उच्च बिन्दुमा पुगेको र यो क्रम अझै नघटेको पाइएको छ। विशेष गरी माध्यमिक तहका छात्राहरूमा आत्महत्याको दर सन् २०१९ को तुलनामा दुई गुणाभन्दा बढीले वृद्धि भएको देखिएको छ। आत्महत्याको मुख्य कारणहरूमा मानसिक स्वास्थ्य समस्या, विशेष गरी डिप्रेसन, शैक्षिक असफलता र पारिवारिक सम्बन्धमा खटपट जस्ता समस्याहरू प्रमुख देखिएका छन्। जी–सेभेन (G7) राष्ट्रहरूमध्ये १० देखि २० वर्ष उमेर समूहको मृत्युको प्रमुख कारण आत्महत्या हुने जापान एक मात्र देश हो।
देशभरको आत्महत्या दर प्रति १ लाख जनसंख्यामा १५.४ रहेको छ, जसमा यामानाशी प्रिफेक्चरमा सबैभन्दा उच्च दर देखिएको छ। यस भयावह अवस्थालाई नियन्त्रण गर्न जापान सरकारले सन् २०२३ देखि ‘बाल आत्महत्या रोकथाम आकस्मिक सुदृढीकरण योजना’ कार्यान्वयनमा ल्याएको छ। यस योजना अन्तर्गत विद्यालयमा दिइएका डिजिटल उपकरणमार्फत विद्यार्थीहरूको मानसिक अवस्थाको प्रारम्भिक पहिचान गर्ने र विज्ञ टोलीमार्फत सहयोग उपलब्ध गराउने कार्य भइरहेको छ। वयस्कहरूको आत्महत्या दर घट्दै गए पनि बालबालिका र किशोरकिशोरीमा बढ्दो यो जोखिमलाई जापानी समाजले गम्भीर चुनौतीका रूपमा लिएको छ।



