
बागलुङको ताराखोला गाउपालिकाले युद्द स्तम्भ बनाउने भएको छ । सशष्त्र द्वन्द्वको समयमा ताराखोला सबैभन्दा बढी प्रभावित र जनयुद्वको आधारभूमिको रुपमा चिनिन्छ ।
उक्त समयको स्मृतिका लागि स्तम्भ बनाउने तयारी भएको गाउँपालिका अध्यक्ष धनबहादुर बिक ‘हिमाल’ले बताए । सहिद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा युद्व स्तम्भ बनाउने भएको हो । जनयुद्ध दिबशमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष बिकले बताए ।
बिहिबार सार्वजनिक गरिएको बजेटमा पनि गाउँपालिकाले स्तम्भ निर्माणका लागि बजेट बिनियोजन गरेको हो । ‘बजेटमा अंक तोकेका छैनौं, तर आवस्यकता अनुसार सहिद सम्झने अवस्था बनाउँछौं’ बिकले भने, ‘सशष्त्र द्वन्द्वको पीडित क्षेत्र भएकोले सम्झना योग्य बनाउँछौं ।’
बजेटमा जनयुद्व दिवश, सहिद सप्ताह कार्यक्रम संचालन लगायतमा व्यवस्था गरिएको छ । त्यसका लागि २४ लाख बजेट बिनियोजन भएको उपाध्यक्ष भीमबहादुर रोकाले बताए । जनयद्वमा ताराखोलाका २३ जना सहिद भएका थिएभने २ जना बेपत्ता र दर्जनौ घाइते छन् । अध्यक्ष बिकसमेत जनयुद्वका घाइते हुन् । उनको शरीरमा गोलीका छर्रा अझै बाँकी छन् ।
जनयुद्वको बेला श्रमदान गरेर बनाइएको सडकलाई स्तरोन्नतीका लागि बजेट बिनियोजन गरिएको छ । झण्डै २३ किमी लामो सडक जनयुद्वमा श्रमदानबाट बनेको थियो । उक्त सडक कालोपत्रे गर्ने तयारी छ । गण्डकी प्रदेश र संघिय सरकारको अनुदानसमेत जुटाएर सडक चौडापार्ने काम भैरहेको छ ।
तत्काल स्तरोन्नती गरेर बर्षातमा पनि नियमित सवारी चलाउन बजेटमा २० लाख रुपैयाँ बिनियोजन गरिएको हो । गाउँपालिकाले सहिद पार्क निर्माणका लागि ५ लाख बजेट बिनियोजन गरेको छ । ताराखोला गाउँपालिका वडा नं. २ को ओसमरको गयार भन्ने स्थानमा पार्कको तयारी छ । पार्कसँगै २३ जना सहिदको अर्धकदको मुर्ति समेत बनाइने छ ।
गाउँपालिकाले स्थानीय उत्पादनमा जोड दिएको छ । कृषि र पशु विकासतर्फ १ करोड १९ लाख बजेट बिनियोजन गरेको हो । कृषि, पशुपालन, सहकारीमार्फत खेती प्रणालीको विकास र भण्डारन, प्रशोधन तथा बजारीकरणमा बजेट बिनियोजन गरेको रोकाले बताए । वडा नं. १ को भुस्कातमा औद्योगिक ग्राम बनाउने भएको हो ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन जोड दिएको गाउँपालिकाले शिक्षातर्फ मात्र १२ करोड बजेट बिनियोजन गरेको हो । सबै स्वास्थ्य चौकीमा निशुल्क सेवा, जोखिममा खटिने स्वाथ्यकर्मीलाई प्रोत्साहन तथा स्वास्थ्य बीमालाई प्राथमिकता दिएको छ । पालिकाले स्वास्थ्यमा मात्रै २ करोड ४१ बजेट बिनियोजन गरेको छ ।



