थालीमा तरकारी कि मासु ?

-


     डा अरुणा उप्रेती    
     वैशाख ११ गते २०७९


१८ वर्षअघि । इरानको ‘वाम’ सहरमा म जनस्वास्थ्य विज्ञ भएर काम गरिरहेकी थिएँ, भूकम्प गएको क्षेत्रमा । एक दिन त्यस सहरबाट केही टाढा एउटा सानो सहरमा खाना खान गयौं । सानो चमेनागृहको मालिकलाई मैले भनें, ‘म शाकाहारी हुँ, मासु नहालेको परिकार दिनू है ।’ तिनले ‘हुन्छ’ भने र मेरा लागि नान, रोटी, सुप ल्याइदिए । म दंग परें । मुखमा सुप हाल्नेबित्तिकै मलाई थाहा भयो, त्यसमा मासु छ ।
‘मैले मासु खान्नँ भनेको, किन मासु हालेको ?’ मैले तिनलाई सोधें ।
‘यो त मासुको रस मात्रै हो, मासु त मैले झिकिसकेँ । यहाँ मासु नखाने मानिस आउँछन्, तिनीहरूका लागि हामी यसैगरी सुप पकाउँछौं,’ तिनले भने ।
३ महिना इरान बस्दा होटलमा मैले तरकारी, दाल कहिल्यै खाइनँ, फलफूल, दही–भात र भान्टा मात्र खाएँ । त्यसबेला मलाई अनुभव भयो, ‘मासुको टुक्रा नखाने मानिसहरू’ त्यहाँ शाकाहारी हुँदारहेछन् ।
मासु खानु स्वास्थ्यकर हो कि होइन ? शाकाहारी भन्लान्, ‘स्वास्थ्यकर होइन ।’ मांसाहारी भन्लान्, ‘शाकाहारीलाई प्रोटिन नै पुग्दैन ।’ शाकाहारीलाई लिएर मांसाहारीले राख्ने यो विचारप्रति मेरो असहमति छ जति शाकाहारीले मांसाहारीप्रति राख्ने यस्तो विचारसँग– ‘मांसाहारीहरू सबै अस्वस्थ हुन्छन् ।’
मेरी ८४ वर्षीय आमा माछा–मासु त के लसुन–प्याजसमेत खान्नन् । तर, उनको शरीरमा रगतको कमी छैन, क्याल्सियम र अन्य सूक्ष्म पोषक तत्त्वको कमी पनि छैन । समय समयमा म आमाको रगत जँचाइरहन्छु । आमा अहिले पनि मीठो खाना पकाउँछिन् । उनलाई अन्य स्वास्थ्य समस्या त छ, तर माछा–मासु नखाएर हुने ‘स्वास्थ्य समस्या’ छैन ।
मेरी एक साथी छिन् । उनी पनि माछा–मासु खान्निन्, तर मिठाई भनेपछि हुरुक्कै हुन्छिन् । भन्छिन्, ‘मिठाई खान आजकल छाडेकी छु । तर, देखेपछि मन थाम्न सक्दिनँ । खान त एक किलो मिठाई पनि खान सक्छु ।’ उनको तौल ८५ केजी छ । दुवै घुँडामा समस्या छ । हिँड्न गाह्रो हुन्छ । भन्नुको अर्थ शाकाहारीहरू स्वस्थ हुन पनि सक्छन्/अस्वस्थ पनि ।

साताको दुई दिन मासु नखाने ‘बर्त’ लिएकी साथीचाहिँ चाडपर्वका बेला त्यो ‘बर्त’ लाई बाईबाई गर्छिन् र मज्जासँग मासु खान्छिन् अनि पश्चात्ताप गर्छिन् । उनलाई कब्जियतको समस्या परेपछि त्रिफला र इसबगोल खान्छिन् । खाना जे खाए पनि सन्तुलित र आफ्नो शरीरलाई विचार गरेर खाने हो भने सायद स्वास्थ्यमा कमै समस्या आउँछन् ।
‘सुत्केरीलाई खुट्टीको रस ख्वाएपछि मात्रै उनी तंग्रिन्छिन् र उनको दूध आउँछ’ भन्नेहरू के बिर्सन्छन् भने शाकाहारीले खाने दाल, सुप, ज्वानोको झोल, कोदो, फापर आदिले शरीरलाई पर्याप्त प्रोटिन दिन्छन् । ‘२५ वर्ष भयो मैले मासु नखाएको, तर मलाई न रगत कम छ, न सूक्ष्म पोषक तत्त्वको कमीले क्याप्सुल खानुपरेको छ,’ म आफ्नो अनुभव सुनाउँदा प्रायः भन्छु, ‘तर, मासु खाने मानिसले पनि विभिन्न तरकारी, दाल खाएपछि मात्रै उसको शरीरमा रेसादार पदार्थ पुग्छ । र, कब्जियत भएर अनेकथरी औषधि खानुपर्दैन ।’
सायद पहिले–पहिले मासु धेरै खान नपाइने भएकाले होला हामीकहाँ कुनै तरकारी स्वादिष्ट भए यस्तो भन्ने चलन छ, ‘मासु जत्तिकै मीठो !’
शाकाहारीले शाकाहारी खाना खाने, स्वस्थ रहने र मांसाहारीले मन लागुन्जेल मासु खाने र स्वास्थ्य समस्या परेपछि छोडिदिने’ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?