खानपानको बारेमा जानकारी दिने किताब ‘नेपाली भान्सा र महिला स्वास्थ्य’

-


     जनहित न्युज    
     जेठ ८ गते २०७९


खानपानका सम्बन्धमा चेतनाको अभावले भ्रम सिर्जना हुनु एउटा पक्ष हो तर सोधखोज गर्न सक्ने र चेतना भएका मानिसले नै त्यसरी प्रमाणहिन कुरालाई अनुशरण गरिदिँदा वा हो मा हो मिलाइदिँदा सारा समाजमा त्यसको असर परिरहेको छ । यस्ता वाक्यले समाजमा भ्रम गाडिन मदत पुगेको छ । आज यस्तै विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ।
हाम्रो समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने थुप्रै आहानहरू अझै दिनहुँ प्रयोगमा आइरहेका छन् । उदाहरणका रूपमा ‘जात फाल्नु गहतको झोलमा’, ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’ भन्ने उखानलाई लिन सकिन्छ । समाजका केही मानिसले यस्ता उखानलाई प्रयोग गरिदिँदा उच्च प्रोटिनयुक्त गहतको दाल र च्याउ ‘तुच्छ’ खाद्य सामग्रीमा सूचीकृत हुन पुगेका छन्।
भन्टा खाए वैगुन हुन्छ भन्ने उक्तिबाट प्रभावित भएर भन्टा देख्नासाथ घुँडा दुख्न थालेको महसुस गर्ने मानिसको पनि हामी कहाँ कमी छैन।
जबकी भन्टामा प्रशस्त लौहतत्त्व, भिटामिन ए र सीका साथै फोलिक एसिड पनि पाइन्छ । गर्भवती महिलाको लागि यी सबै साह्रै लाभदायी मानिन्छन्।
त्यसैगरी ‘मुला खाइ वन पस’ भन्ने भनाइलाई एउटा सोच मानेर थुप्रै मानिस विशेष गरी बालबालिका र युवा वर्ग मुला वा त्यसका परिकार खान त्यति रुचाउँदैनन् । मूलाको गुणको कुरा गर्नुपर्दा यसमा प्रशस्त पानीको मात्रा हुनाले धमनी सफा राख्न मदत पुर्‍याउँछ । यसबाट प्राप्त रेसादार तत्वले चयपचय (मेटाबोलिजम)मा सहयोग गर्छ । साथै मूलामा पोटासियम र भिटामिन सी पनि राम्रैसँग प्राप्त हुन्छ । अझ रातो मूला त भिटामिन ए, सी, बी ६, र जिङ्कसमेतको उत्तम स्रोत हो ।
श्वास–प्रश्वासको समस्या भएकालाई उपयुक्त हुने फोलिक एसिड र लौह तत्व प्रशस्त पाइने मुसुरोको दाललाई न्यूनस्तरको खाद्यमा गणना गर्ने मानिसहरूको पनि कमी छैन । त्यसै गरी लट्टेको साग, इस्कुस, मुला, लौका लगायतका थुप्रै खाद्य सामग्री अपहेलित खाद्य वस्तुको सूचीमा पारिएकाले तिनीहरूको उपभोग गर्दा प्राप्त हुने पौष्टिकता पाउनबाट बञ्चित हुनुपरेको छ।
यसरी हामीले परम्परागत रूपमा खाँदै/पिउँदै आएको हाम्रो परम्पागत खानपानसँग जोडिएका सोचले हाम्रो व्यवहारमा असर पार्दा आफ्नै वरिपरि पाइने पोषक खाद्य सामग्रीको कदर गर्न नसकिएको अवस्था छ।
स्पेनमा गहत
स्पेन गएका वेला एकजना साथीले राजधानी मेड्रिड घुमाउने क्रममा ‘जाडो मौसम छ तिमीलाई एउटा रैथाने रेस्टुरेन्टमा तातो सुप खान लैजान्छु’ भन्नुभयो । मेनुमा हेर्दा भाषा नबुझिने तर पैसा भने महँगै पर्ने सुप अर्डर गरियो । उत्सुकतापूर्वक प्रतीक्षा गरेको प्रसिद्ध सुप आयो । खाइयो अनि थाहा भयो, यो त गहतको दाल पो रहेछ । स्पेनमा गहतको दाललाई जाडो मौसममा विभिन्न तरकारी, मासु, अदुवा, लसुन मिसाएर एउटा पूर्ण भोजनको रूपमा खाने प्रचलन रहेछ ।
हामीले बेवास्ता गरेको दाललाई मेरो स्पेनिस साथीले वर्णन गरिन्, ‘यसमा राम्रो प्रोटिन पाइन्छ, फलाम र अन्य खनिज पनि प्रशस्त हुन्छ । शरीरबाट दूषित पदार्थको निष्कासन गर्न र जाडोमा शरीरको तापक्रम सन्तुलनमा राख्न यो अति सहयोगी छ । साथै आफ्नो शरीरको तौलमा सजग हुने व्यक्तिहरू पनि यही सुप खान्छन् ।’ अनि झट्ट सम्झें– हामी पनि त मृगौलाको पत्थर पगाल्न भन्दै यही दाल खान्छौँ । अङ्ग्रेजीमा हर्सबिन-horsebean भनिने यो दाललाई स्पेनमा ‘हवास डी कावालो’ भन्दा रहेछन् ।
म्यानमारमा गहतलाई अमिल्याएर लेदो बनाउने चलन रहेछ ।
नेपालमा भने ‘जात फाल्नु गहतको झोलमा’ भनेर गहतलाई बेवास्ता गरिन्छ । जबकि १०० ग्राम गहतमा २२ ग्राम प्रोटिन, २८७ मि.ग्रा. क्याल्सियम र अन्य धेरै तत्त्व पाइन्छ । यसलाई टुसा उमारेर खाँदा यसको पौष्टिकता झन् बढ्छ ।
विश्वमा खाद्य सामग्री र पोषक तत्व बारे व्यापक खोज अनुसन्धान हुने गरेका छन् । त्यस्ता विविध अध्ययनले आआफ्नै निचोड निकालेर निर्दिष्ट खाद्य पदार्थको फाइदा, बेफाइदा, पकाउने तरिका सुझाएका छन् । यस सन्दर्भमा स्थानीय वा रैथाने खाद्य सामग्रीको प्रयोग, उत्पादन, स्वास्थ्यमा लाभ आदि पनि थप अध्ययनका विषय बनेका छन्
( sharada Jnawali ko bhanaai)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?