जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिहरूको समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

-


     जनहित न्युज    
     चैत्र ८ गते २०७८


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपाङ्ग योद्धाहरूको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार प्रचण्डले देउवासमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराएका छन् । जसमा सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीहरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मान पत्र वितरण गर्ने लगायतका विषय छन् ।ध्यानाकर्षण गराइएका विषय नेपालको शान्ति प्रक्रियाकै अभिन्न अंग भएकोले यसको व्यवस्थापन गर्नु राज्यको कर्तव्य हुने भएकोले प्रधानमन्त्री सकारात्मक देखिएको मल्लले जानकारी दिए ।

वालुवाटारमा प्रधानमन्त्रीज्यूसँगको छलफलमा घाइते/अपांग योद्धाहरुको सन्दर्भ ध्यानाकर्षण गराएका विषयहरु:
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्ट भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
• जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने,
• जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा) का क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?