
नेपाली कांग्रेसले हिजो मात्रै पाटी सदस्यता दिएर स्वागत गरेको देवेन्द्र यादवलाई आज पार्टी सदस्यबाट बिदाई गरेको छ । कांग्रेसले यादवको १ दिनमै सदस्यता खारेज गर्दै बिदाई गरेको हो ।
हिजो सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीले यादवलाई पार्टीमा स्वागत गरेका थिए ।
फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो । लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् ।
यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् ।
कांग्रेस मुख्यसचिव पौडेलले भने, ‘निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ । साथै, कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ ।’
जारी विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’




