जापानको तल्लो सदनमा ६८ महिला निर्वाचित: रेकर्ड कायम गर्ने प्रयासमा सामान्य गिरावट

-


     जनहित न्युज    
     माघ २८ गते २०८२


जापानमा आइतबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) को निर्वाचनमा ६८ जना महिला उम्मेदवारहरूले जित हासिल गरेका छन्।

यो संख्या अघिल्लो निर्वाचनमा कायम भएको ७३ सिटको ऐतिहासिक रेकर्डभन्दा पाँचले कम भए तापनि, यसलाई जापानको संसदीय इतिहासकै दोस्रो ठूलो महिला प्रतिनिधित्व मानिएको छ।

निर्वाचित महिलामध्ये २८ जनाले प्रत्यक्ष निर्वाचन क्षेत्रबाट र ४० जनाले समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत सफलता प्राप्त गरेका हुन्। यससँगै तल्लो सदनमा महिला सांसदहरूको कुल हिस्सा १४.६ प्रतिशत पुगेको छ।

पार्टीगत आधारमा विश्लेषण गर्दा, सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) बाट सबैभन्दा बढी ३९ जना महिला निर्वाचित भएका छन्। त्यसैगरी, सेन्ट्रिस्ट रिफर्म एलायन्स (सीआरए), डेमोक्रेटिक पार्टी फर द पिपल (डीपीपी) र सान्सेइतो पार्टीबाट समान ८–८ जना महिलाले जित हात पारेका छन्। विशेषगरी सान्सेइतो पार्टीमा महिलाको उपस्थिति बलियो देखिएको छ, जहाँ निर्वाचित कुल सदस्यमध्ये ५३.३ प्रतिशत महिला रहेका छन्। त्यस्तै, डीपीपीमा २८.६ प्रतिशत र सीआरएमा १६.३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ।

जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले आह्वान गरेको यस निर्वाचनमा महिला उम्मेदवारहरूको सहभागिताले नयाँ रेकर्ड कायम गरेको थियो। चुनावी मैदानमा कूल ३१३ महिला उम्मेदवार उत्रिएका थिए, जुन कुल उम्मेदवारको २४.४ प्रतिशत हो। यद्यपि, यो संख्या सरकारले लैङ्गिक समानताका लागि सन् २०२५ सम्म तय गरेको ३५ प्रतिशतको लक्ष्यभन्दा अझै धेरै पछाडि छ। विश्वव्यापी स्तरमा हेर्दा जापानको राजनीतिमा महिला प्रतिनिधित्व अझै पनि निकै न्यून रहेको देखिन्छ, जसले नीति निर्माण तहमा लैङ्गिक सन्तुलन कायम गर्न थप प्रयासको आवश्यकता औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?