बागलुङमा निषेधाज्ञा साउन ४ गते सम्म, सार्वजनिक सवारी सञ्चालनमा

-


     जनहित न्युज    
     असार २५ गते २०७८


बागलुङमा निषेधाज्ञा खुकुलो बनाउदै साउन ४ गते सम्म थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञालाई खुकुलो बनाउँदै १० दिनका लागि थप गरेको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार असार २५ देखि साउन ४ गतेसम्म निषेधाज्ञा अवधि थप गरिएको छ ।
निषेधाज्ञा खुकुलो भएसंगै असार २५ गते देखि निजी तथा सार्वजनिक सवारी साधन जिल्ला भित्र सञ्चालनमा ल्याउन दिईएको छ । फलफुल, तरकारी, खाद्यान्न लगायतका पसल बिहान १० बजेसम्म र अन्य व्यवसायिक पसलहरु बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ ।
यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन । होटल तथा रेष्टुराहरुका लागि बेलुका ७ बजेसम्म अनलाईन र होमडेलिभरी गर्न पाउने व्यवस्था गरिएको छ । विद्यालय र कलेज तथा शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द हुनेछन् । मठ मन्दिर तथा धार्मिक स्थलमा नित्यपूजा गर्न भने छुट दिइएको छ । सार्वजनिक यातायात चलेपनि सार्वजनिक कार्यक्रम गर्न भने पूर्ण निशेष गरिएको छ ।
जिल्ला सदरमुकाममा रहेका सरकारी कर्यालयहरु र बुर्तिबाङमा रहेका इलाका प्रशासन तथा मालपोत कार्यालयले स्थानीय तहअनुसार प्रशासनले बनाएको तालिका अनुसार सेवा प्रदान गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?