टी–२० विश्वकप: दुई पटकको विजेता इंग्ल्यान्डसँग नेपालको साहसिक प्रदर्शन, ४ रनको झिनो अन्तरले पराजित

-


     जनहित न्युज    
     माघ २६ गते २०८२


आईसीसी पुरुष टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले विश्व क्रिकेटको पावरहाउस इंग्ल्यान्डविरुद्ध उत्कृष्ट र साहसिक प्रदर्शन गरे पनि ४ रनको पीडादायी हार ब्यहोरेको छ। मुम्बईको ऐतिहासिक वानखेडे रंगशालामा आइतबार भएको खेलमा दुई पटकको विजेता इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरको रोमाञ्च र नेपाली ब्याटिङ

 नेपाललाई जितका लागि अन्तिम ६ बलमा १० रनको आवश्यकता थियो। तर, इंग्लिस बलरहरूको कसिलो बलिङका सामु नेपालले ५ रन मात्र जोड्न सकेपछि खेल इंग्ल्यान्डको पक्षमा पुग्यो। नेपालका लागि ‘अलराउन्डर’ दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै नेपाली आशा जीवित राखेका थिए।

त्यस्तै, कप्तान रोहितकुमार पौडेल र लोकेश बमले समान ३९–३९ रनको महत्त्वपूर्ण पारी खेले। बम अविजित रहे पनि टोलीलाई जिताउन भने सकेनन्। कुशल भुर्तेलले २९ रन र आरिफ शेखले १० रन जोडे। इंग्ल्यान्डका लागि लियम डवसनले २ विकेट लिए भने जोफ्रा आर्चर, साम करन, लुक उड र विल ज्याक्सले १–१ विकेट बाँडे।

इंग्ल्यान्डको इनिङ्स र नेपाली बलिङ

 यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। इंग्ल्यान्डका लागि ज्याकोब बेथेलले ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान ह्यारी ब्रुकले ५३ रन जोडे। विल ज्याक्स ३९ रनमा अविजित रहे।

नेपालका तर्फबाट बलिङमा पनि दीपेन्द्रसिंह ऐरी चम्किए। उनले र नन्दन यादवले २–२ विकेट लिए। त्यस्तै, स्पिनर सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट हात पारे। हारका बाबजुद विश्व च्याम्पियन टोलीलाई अन्तिम ओभरसम्म कडा टक्कर दिएको भन्दै अहिले सामाजिक सञ्जालमा नेपाली टोलीको चौतर्फी प्रशंसा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?