
गैर आवासिय नेपाली संघ जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकि नो मोरी पार्कमा फेस्टिवल आयोजना गरिने तय भएको हो ।
नेपाल फेस्टिवल जापानमा नेपाल चिनारीको प्रमुख कार्यक्रम तथा नेपालीहरुबिच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य थलो बन्दै आएको छ ।

यस पटकको नेपाल फेस्टिवल नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिए । फेस्टिवल आयोजना र स्थानिय सरकारसँग सहकार्यको लागि यसअघि अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलीले नाकानो सिटिका मेयर नाओतो साकाइ लगायतसँग भेटवार्ता गरिसकेको छ ।

जापानका पूर्व सांसदद्धय कोमियामा योशिहारु, मासामी निशिमुरा लगायत व्यक्तित्वहरुबाट समेत फेस्टिवलमा जापानी निकाय र समुदायको सहभागीताको लागि सक्रिय सहयोग र परामर्श पाइराखेको महासचिव श्रेष्ठले जानकारी दिए ।
फेस्टिवल आयोजनाको तयारी स्वरुप एनआरएनए जापानले यहि मे १५ तारिख बैठक गरेर आवश्यक समितिहरु घोषणा गर्ने भएको छ । जसमा युवा परिचालन, आर्थिक व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, स्टल, फोहोर व्यवस्थापन, अतिथि सत्कार लगायत आवश्यक सबै कुराको लागि कामको बाँडफाँड गरिने महासचिव श्रेष्ठले बताए ।
फेस्टिवल आयोजनाको लागि मूल आयोजक समिति संयोजकमा अध्यक्ष शिव प्रसाद पौडेल रहने र अन्य सदस्यसहित कार्य विभाजनका लागि उप समितिको आगामी बैठकले तय गरिने बताईएको छ । “मूल आयोजक समिति अन्तर्गत उपसमिति बनाईने तथा फेस्टिवल संयोजक समेत आगामी बैठकले तोक्ने छ “ एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले भने ।

नेपाल फेस्टिवल मार्फत जापानी पर्यटकहरुलाई नेपाल चिनाउन र नेपाल भ्रमणमा आकर्षित गराउन यहि मे ९ तारिख नाकानो पर्यटन बोर्डका अध्यक्ष सहितको टोलीसँग एनआरएनए जापानको टोलीले छलफल समेत गरि फ़ेस्टिवललाई स्तरीय र नेपालको बारेमा जापानी समुदायमा रहेको चासोलाई सम्बोधन गर्न महत्वपूर्ण हुने बिश्वास लिएको प्रवक्ता लामिछानेले जानकारी बताए ।
अहिलेसम्मकै फरक र भव्य बनाउन तयारी थालिसकिएको बताउँदै प्रवक्ता लामिछानेले जापानमा नेपाल चिनारी झल्काउने तथा नेपाल र जापानबिचको सम्बन्ध थप प्रगाढ बनाउनेगरि फेस्टिवललाई सांस्कृतिक रुपमा समेत विशेष बनाईने बताए ।



