मिलुन्जेल प्रेम, नमिले बलात्कार !

-


     प्रजु पन्त    
     श्रावण २३ गते २०७८


‘बलात्कारको अभियोगमा जेल परेकाहरुको मनोभावना केलाउँदा अभियुक्तले केटीको चरित्रै उस्तो थियो, छोटो लुगा लगाएकी थिई, उसका धेरै पार्टनर थिए जस्ता बहाना बनाउने गरेको देखिन्छ। केटी नै उस्तो भएर मैले पनि त्यसो गरेको हो भन्नेसम्मका कुरा गरेको पाइन्छ।

नेपालको कानुनले बलात्कारको कसुरमा उमेर अनुसार फरक-फरक सजायको व्यवस्था गरेको छ। १० वर्ष मुनिकालाई बलात्कार गरेमा सर्वस्वसहित जन्मकैदको प्रावधान छ। अन्य उमेर समूहमा भने सजाय कम गर्दै लगिएको छ।

एउटै उमेरबीचको बलात्कारप्रति कानुन नै नरम देखिन्छ। मन मिलुन्जेल प्रेम, मन नमिले बलात्कार? भन्ने गरेको पनि सुनिन्छ। केही घटनामा पहिला सहमतिमा यौन सम्बन्ध राखे पनि पछि मनमुटाव भएपछि बलात्कारको आरोप लगाउने गरेको देखिन्छ। तर सबै केस एकै प्रकृतिका भने हुँदैनन्।

बलात्कारको प्रबृत्ति केलाउने क्रममा उही उमेर समूहका पीडक र पीडित भएका दुई दर्जन बयान पढ्दा पहिले प्रेम सम्बन्ध भएको तर विवाह गर्न नपाएपछि बलात्कारको जाहेरी हालेको पनि देखियो।

विवाहको प्रलोभनमा पारेर यौन सम्बन्ध राख्ने र कुरा मिल्न छाडेपछि सो यौन सम्बन्ध बलात्कारको घटनाको रुपमा सार्वजनिक हुने तथा केही समयको चिनजानपछि एक्लै भएको बेला बलात्कार गर्ने र यौन सम्बन्धको प्रस्ताव अस्वीकार हुँदा जबरजस्ती गर्ने गरेका घटना पनि धेरै भेटियो।

केही घटना पढौँ।
घटना २०७६ को हो। ४/५ दिनअघि एउटा वैवाहिक कार्यक्रममा चिनजान भएको आधारमा काठमाडौंको उत्तरी भेगका ४१ वर्षे एक पुरुषले साँझ ८ बजेतिर २६ वर्षे महिलालाई पछ्याए। 

उनी घर जान बाटोमा हिँडिरहेकी थिइन्। युवक महिलाकै घर नजिक हुँदै जान्थे। उनले घर पुर्याइदिन्छु भनेपछि युवतीले सहजै स्वीकार गरिन्। एकान्त ठाउँ आएपछि युवकले बलात्कार गरेको जाहेरी पर्यो।

युवकले बयानमा युवतीले बीच बाटोमा मोटरसाइकल रोक्नु भनेको र झाडीमा गएर आफैं मडारिएर रोएपछि आफूले किन रोएकी भनेर सम्झाउन जाँदा युवतीको संवेदनशील अंग छोइएको बताए। 

२०७६ असारमा उनी पक्राउ परे। पीडकसँगको बयान यस्तो छः

प्रश्नः २०७६ भदौ १० गते राति साढे ८ बजेको समयमा बाटोमा एक्लै हिँडिरहेकी नाम परिवर्तित डी कुमारीलाई तपाईंले मोटरसाइकलमा बस, घर पुर्याइदिन्छु भन्नुभएको हो?

उत्तरः उनलाई मैले भक्तपुर साथीको विवाह गएको बेला चिनेको थिएँ। उनी बजार गएर आउँदै रहिछिन्। मेरो घर पनि त्यही बाटोबाट जाने भएको हुनाले आऊ म पुर्याइदिन्छु भनेको हो। 

प्रश्नः पीडित डी कुमारीले तपाईंले सुनसान ठाउँ र झाडी भएको जग्गा देखेपछि शारीरिक सम्पर्क राख्न प्रस्ताव गर्नुभयो तर उनले नमानेर मोटरसाइकलबाट झारिदिएपछि केही पर नपुग्दै आफू पनि मोटरसाइकलबाट झरी उनलाई त्यही झाडीमा बलात्कार गर्नुभयो, साँचो-साँचो कुरा के हो? 

उत्तरः उनलाई मैले मोटरसाइकलमा यौन प्रस्ताव राखेको हैन। उनी यहीँ झर्छु, मेरो घर आइपुग्यो भनेपछि मैले उनलाई झारिदिएको हो। उनी पर पुगेपछि मलाई हेर्दै हिँडेकी थिइन्। उनी आफैं लडिबुडी गरेर झाडीमा माडिन थालेपछि के भएछ भनेर नजिक गई मैले उनको संवेदनशील अंगमा छोएको हो। 

प्रश्नः निजलाई तपाईंले बलात्कार गर्नुभयो। निज रोइकराइ गरेपछि तपाईं भाग्नुभयो, हो की होइन?

उत्तरः निजको संवेदनशील अंगमा छोएको, औंला घुसारेको हो। निजको कपडा खोलिदिएको हो। मैले उनलाई करणी गरेको हैन। उनी कराउन थालेपछि म मोटरसाइकल चढी भागेको हो। घर आएर श्रीमतीसँग कुराकानी गरी बसिरहेको अवस्थामा प्रहरीले मलाई पक्राउ गरेका हुन्। 

अपराध संहिताको परिच्छेद १८ को नियम २१९ (ग) अनुसार ‘गुदद्वार वा मुखमा पुरुष यौनांग पसाएमा, गुदद्वार, मुख वा महिलाको यौनांगमा पुरुष यौनांग केही मात्र पसेको भएमा, यौनांग बाहेक अन्य कुनै वस्तु महिलाको यौनांगमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ।

महिलाको स्वास्थ्य परीक्षणमा उनको बलात्कार भएको देखियो।

०००
अर्को घटना, २०७६। 

एक बलात्कारको घटना जोडियो रक्सीसँग। बलात्कारको जाहेरी परेपछि एक पीडकले गोंगबुमा रहेको डान्सबारमा काम गर्ने महिलालाई आफूले चिनेको धेरै समय भएको र  प्रेम सम्बन्ध भएपछि सहमतिमा पटक-पटक यौन सम्बन्ध भएको दावी गरे।

दुवै जनाले रक्सी खाएको र सोही अवस्थामा यौन सम्बन्ध भएको पीडकको दावी थियो। तर पीडितले भने रक्सी खाएको बेलामा आफूलाई जबरजस्ती गरेको जाहेरी दिएकी थिइन्।

अर्को घटना २०७६ कै। 
एक ट्याक्सी ड्राइभरलाई महिलाले राती ११ बजे होटल पु¥याइदिन आग्रह गरिन्। ट्याक्सी चालकलाई उनले काठमाडौंमा कोही पनि नभएको बताइन्। त्यही मौका छोपेर चालकले उनलाई बलात्कार गरे। 

तर, चालकले बयानमा यौन सम्बन्ध भएको तर जबरजस्ती नगरेको दावी गरे। उनले बयानमा भनेका छन्, ‘काठमाडौँमा कोही पनि छैन भनिन्। हामीबीचको सम्बन्ध कसैले थाहा पाउँदैन भन्ने लाग्यो। त्यसपछि शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरेँ। महिलाले स्वीकृति दिइन्।’ 

लाउन्जमा गएर रमाइलो गर्ने अनि सँगै होटलमा जाँदा सामूहिक बलात्कारमा परेका घटनाहरु पनि देखिए। चार जना रेस्टुरेन्टमा गएर मदिरा सेवन गरे। उनीहरु होटलमा पुगे। ४३ वर्षकी महिलाले पछि बलात्कारको जाहेरी दिइन्। यसमा पनि पीडकहरुले सहमतिमै सम्बन्ध भएको दावी गरे। यसको मुद्दा किनारा लागिसकेको छैन।

विवाह अर्कैसँग हुँदा बलात्कारको जाहेरी
उस्तै उमेर समूहको घटना केलाउँदा, पहिले प्रेम सम्बन्ध भएको तर विवाह अर्कैसँग हुँदा पनि बलात्कारको घटना भएको पाइयो। घटना २०६७ सालको धनकुटाको हो।

प्रेम विवाहपछि महिलाका दुई सन्तान भए। श्रीमान्सँग सम्बन्ध बिग्रिएपछि उनी माइतीमै बसिन्। उनको श्रीमानले अर्को विवाह गरे। बजार आउँदा दुवैको भेटघाट बाक्लिन थाल्यो। पछि महिलाले बलात्कार भएको उजुरी दिइन्। आरोपीले अस्वीकार गरे। 

उनले भने, ‘महिलाको स्वीकृतिमा नै शारीरिक सम्बन्ध भएको हो। मैले जबरजस्ती गरेको छैन।’

नेपाल प्रहरी काठमाडौं, महिला सेलकी प्रमुख अनु लामा उस्तै उमेर समूहमा ताकेरै बलात्कार गर्छु भन्नेभन्दा पनि पहिल्यै केही न केही सम्बन्ध भएको देखिने र पछि बलात्कारको जाहेरी पर्ने घटना धेरै देखिने गरेको बताउँछिन्।

‘उस्तै उमेर समूहको बलात्कारका घटनामा सहमतिमा भएको हो वा बलात्कार नै भएको हो, पहिल्याउन अलि गाह्रै हुन्छ,’ उनले भनिन्, ‘बलात्कार नहुने भन्ने होइन तर समान उमेर समूहको सवालमा सबै पुरुष नै दोषी हुन्छन् भन्ने पनि हुँदैन।’

प्रष्टै बलात्कार गरेको खुल्ने घटना पनि छन्।

सुनसरीको हटिया बजार घुम्न गएकी २२ वर्षे युवतीलाई २४ र २६ वर्षका  युवकले बाटो ढुकेर २०६७ साल माघमा बलात्कार गरेको जाहेरी आयो।

दुवै जनाले उनी बजारबाट कति खेर निस्कन्छिन् भनेर बाटो ढुकेर बलात्कार गरेको स्वीकारे।

त्यस्तै फेसबुकबाट चिनजान भएर शारीरिक सम्बन्ध राख्दै आएको एक घटना पछि गएर बलात्कारमा पुग्यो। 

घरमै बोलाएर बलात्कार गर्ने गरेको जाहेरी परे पनि पीडकले ‘श्रीमान्सँग असन्तुष्ट भएपछि आफूलाई बोलाएर सहमतिमै शारीरिक सम्बन्ध राखेको’ बयान दिएका थिए। 

२०७५ को अर्को काठमाडौंको केस। ३५ वर्षे पुरुष र ३७ वर्षीया महिलाबीच पसलमा चिनजान हुन्छ। विस्तारै उनीहरु नजिकिँदै जान्छन्। महिलाकै घरमा दुवैबीच यौन सम्बन्ध बन्छ। सम्बन्ध भएको ४ महिनापछि घटना बाहिरिन्छ।

आरोपीले महिलाका श्रीमानले दुवैको सम्बन्धबारे थाहा पाएपछि बलात्कारको आरोप लगाएको दावी गर्छन्। महिलाले भने आफूलाई ललाइफकाइ सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। 

जहाँ धेरै लैंगिक विभेद त्यहाँ धेरै बलात्कार 
मनोविद् गोपाल ढकाल सामाजिक कुसंस्कार र महिलालाई गरिने विभेदले बलात्कारका घटना बढ्ने गरेको बताउँछन्।

‘बलात्कारको अभियोगमा जेल परेकाहरुको मनोभावना केलाउँदा अभियुक्तले केटीको चरित्रै उस्तो थियो, छोटो लुगा लगाएकी थिई, उसका धेरै पार्टनर थिए जस्ता बहाना बनाउने गरेको देखिन्छ,’ ढकालले भने, ‘केटी नै उस्तो भएर मैले पनि त्यसो गरेको हो भन्नेसम्मका कुरा गरेको पाइन्छ। चरित्रसँग जोडेर हेरिदिएपछि उम्किन पाइन्छ भन्ने उनीहरुको मनोभावना देखिन्छ।’

जेन्डर स्टडिजकी प्राध्यापक मीरा मिश्र आर्थिक, सामाजिक, राजनीतिक रुपमा महिलालाई पछाडि पारिएका कारण बलात्कार जस्ता घटना बढेको बताउँछिन्। 

‘पुरुषको हैसियत शक्तिशाली हुने भएकाले बलात्कार जस्ता जघन्य अपराधका घटना घटेका हुन्,’ उनले दावी गरिन्, ‘लैंगिक असमानताको खाडल जहाँ गहिरो हुन्छ, त्यहाँ बलात्कार जस्ता जघन्य अपराध भएको देखिन्छ।’ 

मिश्र थप भन्छिन्, ‘शक्तिको सम्बन्धका कारण पनि बलात्कार हुन्छ। सम्पत्ति, रोजगारीको पहुँच पुरुषमा धेरै छ, जसले गर्दा लैंगिक असमानताको गहिरो खाडल भएको देखिन्छ। सहमतिमा यौन सम्बन्ध भएकोलाई जात नमिलेको अवस्थामा बलात्कारको मुद्दा लगाइदिने गरेको पाइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?