
टोकियो । जापानकी पहिलो महिला प्रधानमन्त्री सनई ताकाइचीको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले आगामी आइतबार हुने तल्लो सदनको निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ। जापानी पत्रिका ‘आसाही’ ले गरेको हालैको सर्वेक्षण अनुसार, ताकाइचीको दलले प्रतिनिधि सभाको निर्वाचनमा भारी सफलता प्राप्त गर्दै आफ्नो राजनीतिक पकड मजबुत बनाउने देखिएको हो।
संसदमा काम गर्न सहज वातावरण बनाउनका लागि प्रधानमन्त्री नियुक्त भएको १६ दिनमै संसद विघटन गरेकी ताकाइचीका लागि यो निर्वाचन अग्निपरीक्षा मानिएको छ। ४६५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि २३३ सिट आवश्यक पर्नेमा, हाल १९८ सिट रहेको एलडीपीले यो सीमा एक्लै पार गर्ने प्रक्षेपण गरिएको छ। यो सफलता मिलेमा ताकाइचीलाई गठबन्धनको दबाब बिना नै आफ्ना योजनाहरू कार्यान्वयन गर्ने बाटो खुल्नेछ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, फेब्रुअरी ८ मा हुने यस निर्वाचनमा एलडीपी र यसको गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) मिलेर करिब ३०० सिट जित्न सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ, मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को अवस्था भने निकै कमजोर देखिएको छ, जसले आफ्नो हालको १६७ सिटमध्ये झन्डै आधा गुमाउन सक्ने देखिएको छ।
विशेष गरी प्रधानमन्त्री ताकाइचीले अघि सारेका आर्थिक एजेन्डाहरूले मतदातालाई आकर्षित गरेको पाइएको छ। उनले खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत उपभोग करलाई दुई वर्षका लागि पूर्ण रूपमा हटाउने, सरकारी खर्च बढाउने र न्यून आय भएका वर्गलाई संरक्षण गर्ने जस्ता लोकप्रिय प्रतिबद्धताहरू व्यक्त गरेकी छिन्। यही अपेक्षाका कारण जापानी बजारमा समेत हलचल देखिएको छ र सरकारी बन्डको प्रतिफल बढेको छ।
यदि सर्वेक्षणले देखाए जस्तै नतिजा आएमा, ताकाइचीको दलभित्रको प्रभाव बढ्ने मात्र नभई ठूलो खर्च र कर कटौतीमा आधारित वित्तीय नीति अघि बढाउन उनलाई स्पष्ट जनमत प्राप्त हुनेछ। हाल तल्लो सदनमा झिनो बहुमत र माथिल्लो सदनमा अल्पमतमा रहेको सत्तापक्षका लागि यो निर्वाचनको नतिजा जापानको आगामी राजनीतिक र आर्थिक दिशा तय गर्न निर्णायक हुने विश्लेषण गरिएको छ।



