
निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ ।
आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पष्टीकरण मागेको छ । चौबीसघण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौँ,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने ।
वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।
आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।
‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबीस घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने ।
पत्र बुझेको चौबीस घण्टा भित्र स्थापितले स्पष्टीकरणआयोग समक्ष बुझाउनु पर्ने उनले जनाए ।



