हाकोनेको फेदीमा भलिबल प्रतियोगिता हुने, विजेताले ३ लाख ११ हजार पाउने

-


     दिनेश थापा    
     वैशाख ४ गते २०८३


Screenshot

टोकियो नेपाल कल्याण समाज जापानले आगामी जुन १६ मा हाकोनेमा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भव्य राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। ताल, तातोपानीका मुहान र प्रसिद्ध ‘कालो अण्डा’ का लागि विश्वभर चिनिने हाकोनेको मनमोहक वातावरणमा खेलाडीहरूले प्रतिस्पर्धासँगै प्रकृतिलाई समेत नजिकबाट नियाल्न पाउनेछन्। ज्वालामुखी ग्यासको प्रभावले कालो देखिने र आयु बढाउने विश्वास गरिएको यहाँको कालो अण्डा पर्यटकहरूका लागि विशेष आकर्षण रहनेछ भने खेलका माध्यमबाट नेपाली समुदायलाई मनोरञ्जन र एकताको सूत्रमा बाँध्ने लक्ष्य लिइएको छ।

आयोजक समितिका अध्यक्ष बिष्णु शर्माले प्रतियोगिताको मुख्य उद्देश्य जापानमा रहेका नेपाली युवाहरूलाई एकताबद्ध गर्दै खेलमार्फत आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको बताउनुभयो। उहाँका अनुसार यो कार्यक्रम नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एउटा महत्वपूर्ण माध्यम बन्नेछ। महासचिव खेमलाल सापकोटाले सहभागी टोलीहरूको दर्ता, खेल तालिका र सुरक्षा जस्ता व्यवस्थापकीय पक्षहरूलाई उच्च प्राथमिकतामा राखेर तयारी तीव्र पारिएको जानकारी दिनुभयो। संस्थाले यस पटकको आयोजनालाई विगतभन्दा अझ परिष्कृत र भव्य बनाउने योजना अघि सारेको छ।

खेलकुद संयोजक मनोज केसीका अनुसार यस मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ११ येन र उपविजेताले २ लाख ११ हजार १ सय ११ येन प्राप्त गर्नेछन्। पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने उत्कृष्ट पाँच विधाका खेलाडीहरूलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ। संस्थापक संरक्षक जोय बहादुर खड्काले सेइसा लेक एरिना हाकोनेमा हुने यो खेलले खेल, पर्यटन र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रम जुन १६ तारिखका दिन बिहान ९ बजे सुरु भई साँझ ५ बजे समापन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?