जापानमा चामलको मूल्य आकासियो: के हो ‘उचित मूल्य’ र कहिले घट्ला भाउ?

- जापानमा चामलको भाउ जुनसम्म ५ केजीको ‘उचित मूल्य’ ३,२५० येनमा झर्न सक्ने विज्ञको आकलन

-


     जनहित न्युज    
     फागुन ४ गते २०८२


टोकियो, जापान ।

जापानमा विगत केही महिनादेखि चामलको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, ३० जनवरीको सातामा ५ किलोग्राम चामलको औसत मूल्य ४,१८८ येन (करिब २७ अमेरिकी डलर) पुगेको छ। गत वर्षको चामल अभावका कारण बढेको मूल्य, नयाँ बाली भित्रिदा पनि नघटेपछि उपभोक्ता मारमा परेका छन्।

यसै सन्दर्भमा, कृषि नीति विज्ञ तथा मिन्सुबिशी रिसर्च इन्स्टिच्युटका अनुसन्धान फेलो किमियो इनागाकीले हालको बजार भाउ र किसानको लागत विश्लेषण गर्दै चामलको ‘उचित मूल्य’ ३,२५० येन (करिब २० डलर) हुनुपर्ने तर्क अघि सारेका छन्।

किन घटिरहेको छैन मूल्य?

सन् २०२५ मा जापानमा चामलको उत्पादन सन्तोषजनक रह्यो। अघिल्लो वर्षको तुलनामा ६ लाख ७६ हजार टन बढी अर्थात् कुल ७४.७ लाख मेट्रिक टन धान उत्पादन भएको छ। तर पनि बजार भाउमा खासै गिरावट आएको छैन। जनवरीको अन्तिम सातामा मूल्य केवल ९५ येनले मात्र घटेको देखिन्छ।

विज्ञ इनागाकीका अनुसार यसको मुख्य कारण ‘दीर्घकालीन अभाव’ हो। सन् २०२२ देखि २०२४ को बीचमा करिब १० लाख टन चामलको अभाव सिर्जना भएको थियो। सरकारले ६ लाख ६० हजार टन सञ्चित चामल बजारमा पठाए पनि अझै ३ देखि ४ लाख टनको अभाव कायमै छ।

यसका साथै, जापानका कृषि सहकारीहरू (JA) र निजी व्यापारीहरू बीचको प्रतिस्पर्धाले पनि मूल्य घटाउन नदिएको देखिन्छ। गत वर्षको अभावका बेला व्यापारीहरूले किसानबाट महँगो मूल्य (६० केजीको ३०,००० येन सम्म) मा धान खरिद गरेका थिए। उक्त महँगो धान अहिले सस्तोमा बेच्दा घाटा लाग्ने हुनाले व्यापारीहरू ‘पर्ख र हेर’ (Waiting Game) को रणनीतिमा छन्।

कहिले घट्ला भाउ?

इनागाकीको विश्लेषण अनुसार आगामी जुन देखि अगस्ट महिनाको बीचमा चामलको मूल्यमा केही सुधार आउन सक्छ। यदि सन् २०२६ को बाली राम्रो हुने संकेत देखिएमा र भण्डारणमा रहेको पुरानो चामलको मात्रा पर्याप्त भएमा (१८ देखि २० लाख टन), वितरकहरूले स्टक खाली गर्न मूल्य घटाउन सक्नेछन्।

कति हुनुपर्छ वास्तविक मूल्य?

उपभोक्ताको क्रयशक्ति र किसानको दिगोपनलाई सन्तुलनमा राख्दा ५ केजी चामलको खुद्रा मूल्य ३,२५० येन हुनुपर्ने इनागाकी बताउँछन्।

उनको गणना अनुसार:

  • २० हेक्टरभन्दा बढी जमिन भएका किसानले ६० केजी धान १५,००० देखि १८,००० येनमा बेच्दा उनीहरूको जीविकोपार्जन सुरक्षित हुन्छ।
  • थोक बिक्रेतासम्म आइपुग्दा यसको मूल्य २०,००० येन पुग्छ।
  • मिलिङ र प्याकेजिङ खर्च जोडेर उपभोक्ताले ३,२५० येनमा ५ केजी चामल पाउनु न्यायोचित देखिन्छ।

आयातित चामलसँगको प्रतिस्पर्धा

जापानमा विदेशी चामलको आयात पनि बढ्दो छ। सन् २०२५ मा करिब ९६,८३४ टन चामल आयात गरियो, जसमध्ये ८० प्रतिशत अमेरिकाबाट आएको थियो। अमेरिकी चामलको खुद्रा मूल्य करिब ३,५०० येन पर्छ।

इनागाकी भन्छन्, “जापानी चामलले बजारमा टिकिरहनका लागि यसको मूल्य ३,५०० येन भन्दा कम हुनु आवश्यक छ। महँगीको मारमा परेका उपभोक्तालाई राहत दिन र स्वदेशी कृषिलाई प्रोत्साहन गर्न ३,२५० येनको मूल्य विन्दु वैज्ञानिक देखिन्छ।”

सरकारको भूमिका के हुनुपर्छ?

जापान सरकारले चामलको उत्पादन र मागलाई सन्तुलनमा राख्ने नीति लिएको छ। तर, इनागाकीका अनुसार सरकारले केवल उत्पादन नियन्त्रणमा मात्र ध्यान नदिई ‘मूल्य निर्धारण’ मा पनि स्पष्ट नीति लिनुपर्छ।

“सरकारले उपभोक्तालाई ढुक्कसँग चामल किन्न सक्ने वातावरण बनाउनुपर्छ र यदि मूल्य कम भएर किसानलाई घाटा लागेमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ,” उनले भने। जापानी चामल विश्व बजारमा महँगो भएकाले निर्यात गरेर मात्र समस्या समाधान नहुने उनको ठम्याइ छ।


(श्रोतः द माइनिची सिम्बुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?