जापानका पाँच प्रमुख सहरमा महानायक राजेश हमालको ‘सपना, साधना र सफलता’ : नेपाली समुदायका लागि विशेष उत्प्रेरणा कार्यक्रम

-


     जनहित न्युज    
     माघ २५ गते २०८२


टोकियो । जापानवासी नेपालीमा सकारात्मक सोच जगाउन गैरआवासीय नेपाली संघद्वारा महानायक राजेश हमालको उपस्थितिमा फेब्रुअरी ११ देखि पाँच सहरमा निःशुल्क उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिने भएको छ।

जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यका साथ “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा यो विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो। गैरआवासीय नेपाली संघ (NRNA NCC–Japan) को मुख्य आयोजना तथा INLS Japan को सह–आयोजनामा सम्पन्न हुने यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ। कार्यक्रममा महानायक हमालले आफ्नो लामो सिने यात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मका अनुभूतिहरू साझा गर्दै सहभागीहरूलाई उत्प्रेरित गर्नुहुनेछ।

यस विशेष शृङ्खला अन्तर्गत महानायक हमालद्वारा लिखित चर्चित पुस्तक “युगदेखि युगसम्म” लेखक स्वयंको हस्ताक्षरसहित उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। आयोजकका अनुसार सबै कार्यक्रमहरू निःशुल्क रहनेछन् र यसले विशेषगरी युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरूलाई आत्मअनुशासन र लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउनेछ।

कार्यक्रमको तालिका अनुसार पहिलो कार्यक्रम फेब्रुअरी ११ बुधबारका दिन टोकियोको नाकानो जिरो हलमा साँझ ६:३० बजेबाट सुरु हुनेछ। त्यसैगरी, फेब्रुअरी १४ शनिबार साँझ ६:०० बजे शिजुओकाको मिराइए कम्युनिटी हलमा र फेब्रुअरी १५ मा नागोयाको नागोया इन्टरनेशनल सेन्टरमा १७:०० बजेबाट कार्यक्रम सञ्चालन हुनेछ। ओसाका (कान्साइ क्षेत्र) मा फेब्रुअरी १७ मंगलबार १६:३० बजे आवेनो सिभिक सेन्टरमा र अन्तिम कार्यक्रम फेब्रुअरी १९ बिहीबारका दिन फुकुओकाको हाकाता सिमिन सेन्टरमा साँझ ६:०० बजे सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

जापानभर छरिएर रहेका नेपाली समुदायलाई पायक पर्ने स्थानमा उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले हार्दिक अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?