
गलकोट स्पोर्ट्स क्लब टोकियोले दशौ वार्षिकोत्सवको अवसरमा आगामी मे ७ मा चिबामा एघारौ सिल्भर रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने निश्चित गरेको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापित यस क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले यो वार्षिक प्रतियोगितालाई निरन्तरता दिएको हो। संस्थाका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले प्रतियोगितालाई थप व्यवस्थित र सहभागीमैत्री बनाउन विभिन्न कार्यविभागीय संयोजकहरू तोक्दै जिम्मेवारी प्रदान गरेको छ।
प्रतियोगिता संचालनको मुख्य ऐजेण्डा सहित संस्थाका अध्यक्ष रमेश कुमार खत्रीको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि कार्यविभागीय संयोजकहरु तय गर्दै जिम्मेवारी प्रदान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । भलिबल प्रतियोगिता र भलिबल खेलाडी केन्द्रित कार्यक्रमलाई विशेष रूपमा संस्थाले स्थापना कालदेखि नै मुख्य प्राथमिकता राख्दै १० औ सिल्वर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत सम्पन्न गरेको बताउदै अध्यक्ष खत्रीले थप गरे संस्थाले खेलमार्फत युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण सम्बन्ध र समुदायिक एकता वृद्धि हुनु हाम्रो प्रमुख लक्ष्य हो। दशौ सिल्भर रनिङ कप भव्य रुपमा सम्पन्न गरिसकेको र यस पटक आयोजना गर्न लागेको ११ औ भलिबल प्रतियोगितालाई अझ व्यवस्थित, आकर्षक र सहभागीमैत्री बनाउने सोचमा छौ । उनले थपे हामी खेलमार्फत स्वस्थ जीवनशैली, खेलप्रेमी युवा नेतृत्व तथा समुदायमा सकारात्मक वातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध छौ। क्लवले स्थापना कालदेखि नै पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष खत्रीले बताए ।
महासचिव नारायण थापाका अनुसार यस प्रतियोगिताले प्रवासमा रहेका नेपाली युवाहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सामुदायिक एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको सिल्भर रनिङ कप संस्थाका सल्लाहकार चन्द्र खत्रीले आफ्ना स्वर्गीय हजुरबाबाको स्मृतिमा प्रायोजन गर्नुभएको हो।
आर्थिक संयोजक कुशल भण्डारीले जानकारी दिए अनुसार प्रतियोगिताको पुरस्कार राशि निकै आकर्षक राखिएको छ। पुरुष तर्फको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ येन सहित रनिङ सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख २२ हजार २ सय २२ येन प्राप्त गर्नेछन्। त्यस्तै, सान्त्वना स्थान हासिल गर्ने दुई समूहलाई जनही ६१ हजार १ सय ११ येन प्रदान गरिनेछ। महिला तर्फको प्रतिस्पर्धामा प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११ येन र द्वितीय हुनेले ६६ हजार ६ सय ६६ येन प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि पुरुष तर्फ ४ मान येन र महिला तर्फ २ मान येन दर्ता शुल्क तोकिएको छ।
खेल संयोजक विजय बस्नेतका अनुसार चिबास्थित याहोस एरिनामा बिहान ९ बजेदेखि सञ्चालन हुने खेलहरू प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार नक-आउट प्रणालीमा नेपाली रेफ्रीहरूद्वारा सञ्चालन गरिनेछ। पुरुष तर्फ प्रत्येक टिममा १० खेलाडी र २ अफिसियल रहने व्यवस्था छ भने राष्ट्रिय स्तरका अधिकतम दुई जना खेलाडी मात्र एउटा टिममा सहभागी हुन पाउने नियम बनाइएको छ। यस पटक महिला भलिबल र भेट्रान्स तर्फ मैत्रीपूर्ण खेलहरू समेत समावेश गरिएकाले खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको टाईसिट मे ६ तारिख साँझ ५ बजे सार्वजनिक गरिने र सहभागी टिमहरूलाई तोकिएको समयमै निर्धारित पोसाकमा उपस्थित हुन आयोजकले आग्रह गरेको छ।



