योकोहामामा अक्षयकोष सहयोगार्थ ‘नयाँ वर्ष शुभकामना साँझ २०८३’ आयोजना हुने

-


     जनहित न्युज    
     चैत्र १४ गते २०८२


टोकियो, जापान दोलखा समाज जापानले अक्षयकोष सहयोगार्थ ५ अप्रिलमा चर्चित कलाकारहरूको साथमा नयाँ वर्ष शुभकामना साँझ २०८३ कार्यक्रम योकोहामाको कोसेली रेस्टुरेन्टमा भव्यताका साथ आयोजना गर्ने भएको छ।

नेपाली नयाँ वर्षको पावन अवसरमा आयोजना हुन लागेको यस सांगीतिक समारोहमा नेपालका चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहोनीले विशेष प्रस्तुति दिने निश्चित भएको छ। आगामी ५ अप्रिल २०२६, आइतबारका दिन कानागावा वार्डस्थित कोसेली रेस्टुरेन्टमा आयोजना हुने यस कार्यक्रमको मुख्य उद्देश्य अक्षयकोषका लागि आर्थिक स्रोत जुटाउनु रहेको आयोजकले जनाएको छ। समाजका अध्यक्ष संजिव पोखरेलका अनुसार यस कार्यक्रमले कोष संकलन मात्र नभई जापानमा बसोबास गर्ने नेपालीहरूबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि स्थानीय नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। समाजका महासचिव अनुप खड्काले प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षको खुसी साटासाट गर्न र पवित्र उद्देश्यका लागि सञ्चालित अक्षयकोष अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गरेका छन्। सांगीतिक मनोरञ्जनसँगै सामाजिक परोपकारका लागि आयोजना गरिएको यो कार्यक्रमले जापानमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा समेत विशेष योगदान पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?