
Screenshot
टोकियो, जापान जापानमा गत वर्ष ५३८ विद्यार्थीले आत्महत्या गरी रेकर्ड कायम गर्दा कुल आत्महत्याको संख्या भने घटेर हालसम्मकै न्यून बिन्दुमा झरेको तथ्य सरकारी तथ्याङ्कले सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको सन् २०२५ को अन्तिम प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा विद्यार्थीहरूको आत्महत्या संख्यामा उच्च वृद्धि देखिएको हो। गत वर्ष ३५६ उच्च माध्यमिक, १७२ माध्यमिक र १० प्राथमिक तहका बालबालिकाले आफ्नै ज्यान लिएका छन्, जुन सन् १९८० देखि तथ्याङ्क राख्न थालिए यताकै सबैभन्दा बढी हो। विशेष गरी सन् २०२० पछि छात्रा र माध्यमिक तहका विद्यार्थीहरूमा डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याका कारण यस्तो दुखद प्रवृत्ति बढेको पाइएको छ। उनीहरूले मृत्युअघि छाडेका टिपोट र व्यवहारका आधारमा मानसिक तनाव नै मुख्य कारक रहेको मन्त्रालयको निष्कर्ष छ।
अर्कातर्फ, जापानको समग्र आत्महत्याको तथ्याङ्क भने निकै सकारात्मक देखिएको छ। गत वर्ष कुल १९,१८८ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १,१३२ ले कम हो। सन् १९७८ मा रेकर्ड राख्न थालिएदेखि आत्महत्याको संख्या २० हजारको अंकभन्दा मुनि झरेको यो पहिलो पटक हो। समग्रमा स्वास्थ्य समस्याका कारण हुने आत्महत्या घटे पनि २० वर्ष आसपासका युवाहरूमा भने आर्थिक अभाव, जीविकोपार्जनको समस्या र बढ्दो ऋणका कारण आत्महत्या गर्ने दर बढ्दो क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ।
मन्त्रालयका अधिकारीहरूले आत्महत्याका कारणहरू अत्यन्तै जटिल र विविध रहेको बताउँदै यसलाई रोक्न सरकारले नयाँ रणनीतिहरू अपनाउने घोषणा गरेको छ। बढ्दो विद्यार्थी आत्महत्यालाई सम्बोधन गर्न सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को सहयोगमा परामर्श सत्रहरू सञ्चालन गर्ने तयारी गरेको छ। यसका साथै आर्थिक संकटमा परेका नागरिकहरूलाई लक्षित गरी विशेष सहयोगका कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।



