
दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने १०० भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको एनएचकेले उल्लेख गरेको छ ।

राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए । कोभिड-१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ । रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए ।

केबीएस टेलिभिजनका अनुसार लोकप्रिय नेटफ्लिक्स नाटक “इटावन क्लास” प्रदर्शन गरिएको क्षेत्रमा हजारौं मानिसहरू भेला भएका थिए सो क्षेत्रमा एक्कासी भागदौड भएको अग्नि नियन्त्रक अधिकारीहरूले राति १० बजेतिर आपतकालीन कलहरू प्राप्त गर्न गरेका थिए ।

योनहापले ह्यामिल्टन होटल नजिकैको साँघुरो गल्लीमा ठूलो संख्यामा मानिस प्रवेश गरेको विश्वास गरिएकोले भागदौड भएको बताएको छ ।
मृत्यु भएका अधिकांश किशोर/किशोरी भएको अधिकारीले बताएका छन् । भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनाक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन् ।
घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ । भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ । घटनाको कारण भने अझै खुलिनसकेको समाचार एजेन्सी योनहेपलाई उद्धृत गर्दै एपीन्यूजले लेखेको छ ।

दुर्घटनापछि कोरियाका राष्ट्रपति युन सुक-योलले इतेवन क्षेत्रमा तुरुन्त उद्धार टोली खटाउन निर्देशन दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भीडमा भाग्न खोज्दा धेरै मानिस सडकमा लडेको देखिएको छ । उनीहरूलाई हाल सीपीआरको माध्यमद्वारा उपचार गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन् ।
दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीका अनुसार घटनास्थलमा जम्मा १४३ फायर फाइटिंग गाडीहरू परिचालन गरिएको थियो।

भागदौडका कारण भीडमा सास फेर्नसमेत गाह्रो भएको उक्त र्यालीमा सहभागीले बताएको अग्निशमन विभागका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।