
Screenshot
टोकियो, जापान
जापानको टोकियो स्थित व्यस्त र चर्चित सिबुया स्टेसन वरपर यस वर्ष पनि नयाँ वर्षको ‘काउन्टडाउन’ (Countdown) कार्यक्रम नहुने भएको छ। सिबुया वार्ड कार्यालयले लगातार छैटौं वर्ष आधिकारिक रूपमा काउन्टडाउन कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो।
सन् २०१९ सम्म सिबुया स्टेसन नजिकै भव्य रूपमा काउन्टडाउन कार्यक्रम हुँदै आएको थियो, तर भीडभाडका कारण हुनसक्ने दुर्घटना र अन्य समस्याहरूलाई मध्यनजर गर्दै त्यसयता यो कार्यक्रम स्थगित गरिँदै आएको छ।
हाचिको सालिक क्षेत्र सिल गरिने
कार्यक्रम रद्द गरिए पनि नयाँ वर्षको पूर्वसन्ध्या (New Year’s Eve) मा मानिसहरूको ठूलो भीड जम्मा हुने अपेक्षा गरिएको छ। यसलाई नियन्त्रण गर्न सिबुया वार्डले कडा सुरक्षा व्यवस्था लागू गर्ने तयारी गरेको छ:
- हाचिको सालिक बन्द: सिबुयाको मुख्य आकर्षण मानिने ‘हाचिको’ कुकुरको सालिक (Hachiko Statue) वरपरको क्षेत्रलाई बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान १ बजेसम्म बन्द (Cordon off) गरिनेछ।
- मदिरा बिक्रीमा रोक: वार्ड कार्यालयले स्टेसन नजिकका पसलहरूलाई मदिरा बिक्री वितरण नगर्न अनुरोध गर्नेछ। हेलोविनको समयमा जस्तै सुरक्षा सतर्कता अपनाइने बताइएको छ।
मेयरको अपिल
सिबुयाका मेयर हासेबे केनले भीडभाडका कारण हुने दुर्घटना रोक्न प्रहरी र सार्वजनिक यातायात कम्पनीहरूसँग मिलेर काम गरिरहेको बताएका छन्। उनले स्टेसन वरपर सुरक्षित वातावरण बनाउन सर्वसाधारणसँग सहयोगको अपिल समेत गरेका छन्।
प्रहरीले सुरक्षाकर्मी परिचालन बढाउने र ट्राफिक तथा पैदल यात्रीहरूको आवागमनलाई कडाइका साथ व्यवस्थापन गर्ने जनाएको छ।



